काठमाडौं- केएमसीले नलिम्बन गरेका डा विशद दाहाललाई अस्पतालले हालसम्म पनि भित्र छिर्न दिएको छैन। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको निलम्बन तत्काल फिर्ता गर्न निर्देशन दिएका थिए।
मन्त्री राईले काठमाडौँ विश्वविद्यालयका उपकुलपतिलाई पत्र पठाउँदै निलम्बित विद्यार्थी डा दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा शैक्षिक वातावरण तयार गर्न निर्देशन दिएका थिए।
केयूले पनि डा दाहालको निलम्बन स्थगित गर्दै तीन दिनभित्र घटना विवरण पठाउन निर्देशन दिएको थियो। तर केएमसीले भने अटेर गर्दै आएको छ। केएमसी सांसद सुनिल शर्माको कलेज हो।
उक्त कलेजले पुस १२ गते दाहाललाई काठमाडौं गैह्रीगाउँमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा खटाइए पनि त्यसमा सहभागी नभएको आरोप लगाउँदै एक महिनासम्म शैक्षिक कार्यक्रममा सहभागी हुन नपाउने गरी सोहि दिन निलम्बन गरेको थियो।
निजी क्लिनिकमा समेत शिविर सञ्चालन गर्न पठाउने गरेको र नजाने विद्यार्थीलाई अनावश्यक हैरानी र कारबाहीको चेतावनी दिने गरिएको विद्यार्थीहरुको भनाइ छ।