जाजरकोट– चिसोका कारण जाजरकोटमा थप १ जना भूकम्पपीडितको मृत्यु भएको छ। भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँका ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोको कारण मृत्यु भएको हो।
त्रिपालको बसाइले बिरामी भएपछि कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। कडा निमोनिया देखिएपछि त्यहाँ उपचार नभएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरेर सुर्खेत पुर्यामउँदा पनि कर्णबहादुरको उपचार सम्भव भएन। उपचारकै क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छोरा रूपलाल विकले बताए। भूकम्पपछि त्रिपालमुनि बस्दा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या जाजरकोटमा ३१ पुगेको छ। रुकुम पश्चिममा ५ गरी ३६ जना भूकम्पपीडितको चिसोका कारण मृत्यु भैसकेको छ।
हिउँदको कठ्याङ्ग्रिँदो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य भूकम्प पीडितहरूको ज्यान जाने क्रम रोकिन सकेको छैन।
चिसोबाट मृत्यु अर्थात् हाइपोथर्मिया के हो ?
वरिष्ठ फिजिसियन डा लोचन कार्कीको उत्तर : शरीरको निश्चित तापक्रम हुन्छ । सामान्य तापक्रम भनेको ९६ डिग्री सेल्सियसदेखि ९९ बीचमा हो। ९६ भन्दा भन्दा कम हुँदै गयो भने हाइपोथर्मिया हुन्छ । ९९ भन्दा धेरै भयो भने ज्वरो हुन्छ ।
शरीरमा चिसो हुँदै गएपछि रक्तसञ्चार वा रक्तनली खुम्चिन थाल्छन् । मुटुले रगत पम्प गर्छ र हेमोग्लोबिनले अक्सिजन लिएर शरीरभरी फैलिन्छ । चिसोका कारण रक्तसञ्चार रोकिन थालेपछि अक्सिजन पुग्दैन । अक्सिजन नपुगेपछि हातखुट्टा निलो देखिने लक्षण देखिन्छन्, जसलाई साइनोसिस भन्छौं । अक्सिजन नै नपुगेपछि विस्तारै कोषिकाहरु मर्न थाल्छन्।
अर्कोतिर चिसोले श्वा सप्रश्वास नली पनि खुम्चिन थाल्छ । त्यसले फोक्सोमा अक्सिजनको मात्रा कम पुग्ने भयो । मुटुलाई पनि अक्सिजन चाहिन्छ र पम्प गर्न निश्चित रक्तसञ्चार चाहिन्छ । रक्तसञ्चार नभएपछि मुटु आफैं पनि काम गर्न छाड्छ । जसलाई कार्डियाक अरेस्ट भनिन्छ । रक्सी खाएको मान्छे चिसोमा लडेर मृत्यु भएको सुनिन्छ। अहिले जाजरकोटमा भुकम्पपिडितहरुको पनि हाइपोथर्मियाका कारण मृत्यु भइरहेको सुनिन्छ । सडकमा रात बिताउनेहरुको पनि यही कारणले मृत्यु हुने गरेको छ।
त्यस्तो भेटियो भने तातो ब्ल्यांकेट ओढाउने गर्नुपर्छ । तातोपानी खुवाउने गर्नुपर्छ । यदि हाइपोथर्मियाबाट निकाल्न सकिएन भने मृत्युसम्म जान्छ।