काठमाडौं- कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले एउटा मात्र कम्पनीसँग मिल्ने गरी सिटी स्क्यान खरिद प्रक्रियामा सेटिङ गरेको तथ्य फेला परेको छ। केन्द्रले १२८ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन खरिदका लागि लक स्पेसिफिक बनाएर मिलेमतो गरेको तथ्य फेला परेको हो।
केन्द्रले मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि झण्डै साढे सात करोड रुपैयाँमा खरिद गर्न लागेको सिटी स्क्यान मेसिनका लागि व्यापारीसँग मिलेमतो गरेको पाइएको हो। केन्द्रले एक्सिस मेडिबिज प्राली नामक एक सप्लायर्स कम्पनीसँग मिलेमतो गरेर सोही अनुसार उसको मात्र सिटी स्क्यान खरिद गर्न मिल्ने गरी लक स्पेक बनाएको विवरण स्वास्थ्यखबरले प्राप्त गरेको छ।
केन्द्रले गत कात्तिक २४ गते सिटी स्क्यान खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। तर केन्द्रले कम्पनीसँगको मिलेमतोमा तयार पारेको प्राविधिक स्पेसिफिकेसनमा मेडिबिज बाहेक अन्य कुनै पनि कम्पनीको सिटी स्क्यानका लागि मिल्ने बनाइएन। जसका कारण प्रतिस्पर्धामा कोही पनि जान सकेनन्।
केन्द्रका एक कर्मचारीका अनुसार मिलेमतोमा स्पेसिफिकेसन बनाएका कारण बोलपत्र अनुसार प्रक्रिया सबै पुरा गरेर निवेदन दिने पनि सोही एक कम्पनी मात्र भएको छ। 'मिलेमतो गरेका कारण होला उक्त कम्पनीबाट प्रिबिडमा मिटिङमा समेत कोही आएका थिएनन्,' ती कर्मचारीले भने, 'प्रिबिडमा अन्य कम्पनीका प्रतिनिधि त थिए। उहाँहरुले संशोधनका बुँदाहरु राख्नु पनि भएको थियो। तर प्रिबिडमा नै नआएका कम्पनीसँग मिल्ने गरी बनाइएको मुख्य मुख्य बुँदाहरु परिवर्तन भएन।'
खरिद गर्न लागिएको उक्त सिटी स्क्यान मेसिनको वारेन्टी समय पनि दुई वर्षको मात्र रहेको ती कर्मचारी बताउँछन्। भन्छन्, 'सामान्यतया अरु सिटी स्क्यान कम्पनीको वारेन्टी समय पाँच वर्षको हुन्छ। तर यो कम्पनीको जम्मा दुई वर्ष मात्र छ। यसले त राज्यलाई सिधै घाटा हुने देखियो।' ती कर्मचारीका अनुसार सेटिङमा खरिद हुन लागेको उक्त सिटी स्क्यानका सप्लायर्सले यसअघि सिटी स्क्यान मेसिनको कारोबार नै नगरेको भन्दै केन्द्रमा केहीले मौखिक उजुरी समेत गरेका छन्।
'स्वास्थ्य सेवामा सिटी स्क्यान एकदमै जटिल इक्विपमेन्ट मानिन्छ। नेपालमा सिटी स्क्यान सप्लाई गर्ने सप्लायरहरू वर्षौँदेखि यो क्षेत्रमा देखिन्छ। यसमा सर्भिसको ठूलो भूमिका हुन्छ। यति संवेदनशील र ठूलो खरिदमा पनि सेटिङ र लापरवाही गरिएको भेटियो,' ती कर्मचारीले भने, 'कहीँ कतै सिटी स्क्यानसँग सम्बन्ध नभएको कम्पनीले मात्र खरिद प्रक्रियामा भाग लिनु निकै शंकास्पद देखिएको छ।'