काठमाडौं– ग्रामीण क्षेत्रको जनसंख्या ३३.१९ प्रतिशत रहेको छ भने शहरी क्षेत्रको जनसंख्या २७.०७ प्रतिशत रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको २०७८ को जनगणनाअनुसार ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरणको प्रतिवेदनअनुसार शहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्या ३९.७५ प्रतिशत रहेको छ।
२०६८ को जनगणनाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनसंख्या ३८.५ प्रतिशत रहेको थियो। एक दशकको अवधिमा ग्रामीण क्षेत्रको जनसंख्या ५.५ प्रतिशतले घटेको छ। जसअनुसार ग्रामीण क्षेत्रको जनसंख्या निरन्तर घट्दो क्रममा रहेको छ।
२०६८ सालको जनगणनाअनुसार शहरी क्षेत्रको जनसंख्या २२.१ प्रतिशत रहेको थियो। २०७८ मा शहरी क्षेत्रको जनसंख्या २७.०७ प्रतिशत पुगेको छ। विशेषताका आधारमा शहरोन्मुख क्षेत्र भए पनि ‘शहरी’ क्षेत्र मानिएको स्थानमा अझै पनि जनसङ्ख्याको ठूलो हिस्सा रहेको देखिन्छ।
ग्रामीण जनसङ्ख्या अझै पनि एक तिहाइ छ। जबकि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट शहरोन्मुख र शहरी क्षेत्रमा बसाइँसराइले जनसङ्ख्यालाई शहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको कार्यालयको भनाई छ।
नेपालमा लामो समयदेखि शहरी जनसंख्याको सही तथ्यांकको विषयमा अन्योल थियो। राष्ट्रिय जनगणना २०७८ ले नेपालमा नगरपालिकाको जनसंख्या ६६.१७ प्रतिशत र गाउँपालिकाको जनसंख्या ३३.८३ प्रतिशत रहेको देखाएको थियो। तर, सबै नगरपालिकाको जनसंख्यालाई शहरी क्षेत्रका रुपमा परिभाषित गर्न मिल्दैनथ्यो।
shivam cement
nimb
महानगर, उपमहानगर तथा नगरपालिककाभित्र पनि ग्रामीण चरित्रका बस्ती प्रशस्त मात्रामा रहेका तथा गाउँपालिकाका बजार तथा केन्द्रहरू ससाना शहरका रूपमा बिस्तार हुँदै गइरहेको परिप्रेक्ष्यमा शहरीकरणका आयामलाई फरक ढंगले केलाई पुनः परिभाषित गर्न अहिलेको अध्ययन गरिएको कार्यालयले जनाएको छ।
शहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्या ३९.७५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। नेपालका बहुसंख्यक नागरिक अर्ध–शहरी क्षेत्रमा बसोबास गर्ने तथ्यांकले देखाएको छ। ग्रामीण क्षेत्रबाट शहरोन्मुख र शहरी क्षेत्रमा भइरहेको बसाइँसराइले जनसंख्यालाई शहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको प्रतिवेदनमा उल्लेख छ।
भौगोलिक क्षेत्रका आधारमा हेर्दा, ग्रामीण जनसंख्यामध्ये पहाडमा ६६ प्रतिशत र हिमालमा १६ प्रतिशत केन्द्रित छ। शहरोन्मुख जनसंख्यामध्ये तराईमा मात्रै ८५ प्रतिशतको बसोबास छ। पोखरा महानगरपालिका र काठमाडौं उपत्यकामा अधिकांश शहरी जनसंख्या थुप्रिएका कारण शहरी जनसंख्यामध्ये पहाडमा ५३ प्रतिशत र त्यसपछि तराईमा ३९ प्रतिशत केन्द्रित भएको प्रतिवेदनले देखाएको छ।
गाउँपालिका ५.९ प्रतिशत जनसंख्या शहरी भनेर वर्गीकरण गरिएको क्षेत्रमा बसोबास गर्ने गरेको र नगरपालिकाका २५.४ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रका रुपमा वर्गीकरण गरिएको क्षेत्रमा बसोबास गर्ने गरेको तथ्य पनि प्रतिवेदनले देखाएको छ। प्रतिवेदनले नगरपालिका भए पनि बसोबास क्षेत्रको मुख्य विशेषता अझै पनि शहरोन्मुख छन् र उल्लेख्य जनसंख्या ग्रामीण परिदृश्यमा नै भएको देखाएको छ।
त्यसैगरी, शहरी र शहरोन्मुख क्षेत्रको तुलनामा गाउँपालिकाका वडाहरूको संख्या धेरै भए पनि तिनमा कुल जनसंख्याको ३३ प्रतिशत रहेको देखाएको छ।