काठमाडौं- नेपालमा पूर्ण स्तनपान गराउनेमा कर्णाली र सुदूरपश्चिम प्रदेश पहिलो भएका छन्।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक अनुसार पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा ७४ प्रतिशत रहेको छ भने लुम्बिनी प्रदेशमा सबैभन्दा कम अर्थात् ३६ प्रतिशत रहेको छ।
उक्त तथ्यांक अनुसार नेपालमा बोतलपान गराउनेहरुको संख्या २२ प्रतिशत रहेको छ। उक्त संख्या बाग्मती प्रदेशमा सबैभन्दा बढी ४३ प्रतिशत तथा कर्णालीमा सबैभन्दा कम ११ प्रतिशत रहेको छ।
तथ्यांक अनुसार नेपालमा ५ वर्ष मुनिका २५ प्रतिशत बालबालिकाहरु पुड्कोपना, ८ प्रतिशत ख्याउटेपना, १९ प्रतिशत कम तौल र ४३ प्रतिशत रक्तअल्पताबाट ग्रसित रहेका छन्। संसारभर हुने बाल मृत्युदरको ४५ प्रतिशत कारण कुपोषण रहेको तथ्यांकले बताउँछ।
नेपाल सरकारले मातृ तथा शिशु स्वास्थ्यमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनुचित प्रयोगले हुने असरलाई न्युनीकरण स्तनपानको संरक्षण गर्नका लागि आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण ऐन ,२०४९ तथा नियमावली ,२०५१ को व्यवस्था समेत गरेको छ। ऐनको दफा १३ अनुसार उत्पादक ,वितरक, स्वास्थ्य सेवा निकाय, तथा स्वास्थ्य कार्यकर्ताहरुबाट यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम पालन भएको नभएको निरीक्षण गरी पालना नभएको अवस्थामा आवश्यक कारवाही समेत अगाडि बढाउने व्यवस्था छ।
स्तनपान मैत्री वातावण बनाउनका लागि सरकारबाट भएका प्रयासहरु
-आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण ऐन, २०४९ र नियमावली, २०५१ का प्रावधानहरुको कार्यान्वयत गरि स्तनपानलाई संरक्षण गर्ने कार्यहरु भइरहेका छन्। त्यसका लागि निरीक्षकहरुको नियुक्ति भइ क्षमता विकास तालिम समेत सम्पन्न भइसकेको छ।
-पूर्ण स्तनपानलाई सहयोग गर्न सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा सरकारी, तथा निजी संस्थामा कार्यरत्त महिलालाई कम्तिमा ९८ दिनसम्मको तलब सहितको प्रसूती बिदा तथा चिकित्सकको सिफारिसमा १ वर्षसम्मको बेतलबी बिदाको व्यवस्था भएको छ।
-स्तनपान गराइरहेकी कामकाजी आमाहरुलाई कार्यालय समयभित्र सुरक्षित मात्तुत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को ३ अनुसार स्तनपान मैत्री वातावरण श्रृजना गरी सहयोग गर्न। पूर्ण स्तनपानलाई ध्यानमा राखी प्रसूति बिदा दिने लगायतका लागि सबै सरकारी तथा निजी संस्थाहरुमा पहल गर्ने कार्य भइरहेको।
-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा धेरैजसो राष्ट्रिय विमानस्थलहरुकामा स्तनपान कक्षको स्थापना भइसकेको अवस्था छ। त्यस्तै सेवाग्राहीहरुको बढी भिड हुने सार्वजनिक स्थलहरुमा समेत स्तनपान कक्ष निर्माणका कामहरु भइरहेका छन्।
-स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरी स्तनपानको बढावा दिनका लागि आमा तथा परिवारका सदस्यहरुलाई परामर्श तथा सचेतना दिने कामहरु भइरहेका छन्।
-अस्पतालहरुमा स्तनपानलाई बढावा दिनका लागि तथा बट्टाको दूधको प्रयोगलाई निरुत्साहन गर्नका लागि मातृ शिशुमैत्री अस्पतालका रुपमा विकास गर्ने अभियानको विस्तार।