काठमाडौं- गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन्। स्वास्थ्यमन्त्री मोहन बस्नेतले उनलाई निमित्त निर्देशकमा नियुक्त गरेका हुन्।
गत पुस ६ गते कार्यकारी निर्देशकमा डा चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो। डा अधिकारीको कार्यकाल सकिएपछि नयाँ कार्यकारी निर्देशकका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न नामहरुमा छलफल गरेको थियो। छलफलपछि डा मल्ललाई जिम्मेवारी दिइएको हो।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा अधिकारीको कार्यकाल सकिएलगत्तै नयाँ निर्देशकको फाइल उठाउन लगाएका थिए। फाइलमा निर्देशकको नाम भने लेखिएको थिएन।
मन्त्री बस्नेतले डा मल्ललाई नै निर्देशकको जिम्मेवारी दिन चाहेको स्वास्थ्यखबरले गत पुस ६ गते नै समाचारमा उल्लेख गरेको थियो।