काठमाडौं- स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–९ खनायाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाहीलाई प्रहरीले प्रक्राउ गरेको हो।
सोमबार जिल्ला प्रहरी कार्यालय मुगुले सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्सा विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा उनलाई पक्राउ गरेको हो। यसअघि अनमी तुल्सामाथि जातीय विभेद गरेको आरोपमा सुरजकी आमा झापु शाही र अर्का धनप्रसाद भट्ट पक्राउ परिसकेका छन्।
अनमी तुल्सा विश्वकर्माले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
मुगुको सोरु गाउँपालिका–९ खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्सा कुमारी विकले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेकी हुन्।
दाङको तुल्सिपुर घर भएकी उनी लोकसेवा आयोगबाट ११ महिनाअघि सोरु गाउँपालिकामा अनमी पदमा सिफारिस भएर गएकी थिइन्। उनलाइ गाउँपालिकाले स्वास्थ्य चौकी खनायाँमा रहेर कामकाज गर्न खटाएको थियो।