काठमाडौं- आर्थिक अभावका कारण उपचार अभावमा कुनै पनि नागरिकको मृत्यु नहोस् भन्दै सरकारले आठ प्रकारका कडा रोगका बिरामीहरुलाई उपचारका लागि सहुलियत उपलब्ध गराउँदै आएको छ।
सरकारले हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनिमिया गरी आठ प्रकारका कडा रोगका बिरामीलाई उपचारका लागि निश्चित सहुलियत उपलब्ध गराउँछ।
विगत लामो समयदेखि चल्दै आएको यो कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि देशभरका १२० वटा अस्पतालबाट विपन्न नागिरकले उपचार सेवा लिन पाउने छन्। अस्पतालको क्षमताका आधारमा रोगको उपचार सेवा लिन सकिनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२० वटा अस्पतालको सूची तयार पार्दै चालु आर्थिक वर्षका लागि नयाँ निर्देशिका जारी गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा ५४ हजार ८३७, ७७/७८ मा २९ हजार ३४६ र ७७ र ७८/७९ मा ३५ हजार ५३७ जनाले सेवा लिएको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा शाखाको तथ्यांक छ।
कसरी लिने सेवा?
निर्देशिकामा सेवा लिने प्रक्रिया बारे उल्लेख गरिएको छ।
(१) विपन्न विरामी नागरिकले कडारोगको उपचार सहुलियत लिनका लागि सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिई वडा कार्यालयबाट विपन्न हो भनी सिफारिस लिनु पर्नेछ।
(२) उक्त सिफारिस, चिकित्सकको प्रिस्क्रिप्सन, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, नाबालकको हकमा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी र निवेदन सम्बन्धित स्थानीय तहमा पेश गर्नु पर्नेछ।
(३) निवेदन तथा आवश्यक कागजात प्राप्त भए पश्चात सम्बन्धित स्थानीय तहले निर्देशिकाको दफा ४ मा रहेको वयवस्था अनुसार सम्बन्धित पालिकाको प्रमुखको संयोजकत्वमा रहेको समितिले आवश्यक जाँचबुझ गरी बिरामीको पारिवारिक आर्थिक अवस्था समेत हेरी औषधि उपचार सहुलियत उपलब्ध गराउने प्रयोजनको लागि सूचीकृत अस्पतालमा सिफारिस गर्नेछ।
(४) गरिव परिवार परिचय पत्र भएका बिरामीहरुले उक्त परिचयपत्रकै आधारमा सूचीकृत अस्पतालबाट सोझै उपचार सहुलियत पाउनेछन्।
(५) विपन्न बिरामी नागरिकले सुचिकृत अस्पतालबाट मिर्गौला रोगमा निर्देशिकामा तोकिए अनुसार र अन्य रोगको हकमा एक लाखसम्मको उपचार सहुलियत पाउनेछन्।
(६) थप उपचार सेवाका लागि प्रेषण भएका बिरामीले सम्बन्धित अस्पतालको सिफारिसमा प्रेषण गरिएको अस्पतालमा उपचार सुनिश्चितता भए पश्चात सिधै सम्पर्क राख्न सक्नेछन्।
(७) विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत कुनै पनि बिरामीलाई नगदै भुक्तानी दिइँदैन।
(८) मिर्गौला प्रत्यारोपण गर्ने बिरामीको हकमा प्रत्यारोपण पूर्व गरिने अङ्गदाता र ग्रहणकर्ताको प्रयोगशाला परीक्षण (HLA Cross match) वापत सरकारी अस्पताल वा सरकारी प्रयोगशालाबाट परिक्षण गरेको रकम तथा सुचिकृत अस्पतालबाट मिर्गौला प्रत्यारोपण गरि हाल औषधि सेवन गरिरहेका बरामीहरुलाई प्रत्यारोपण पश्चात औषधि सेवन बापतको रकम बिल भर्पाईको आधारमा भुक्तानी व्यवस्थापन समितिबाट सिफारिस भए बमोजिम तोकिएको सिमा भित्र रही आर्थिक प्रशासन शाखाबाट शोधभर्ना भुक्तानी हुनेछ।
कुन रोगमा कति सहुलियत?
यी अस्पतालमा लिन सकिन्छ उपचार सेवा