काठमाडौं- विश्व बैंकको कालो सूचीमा परेका स्वास्थ्य व्यवसायी नबराज बस्नेतले विश्व बैंकसँग सन् २०१६ देखिनै विवाद रहेको विषय स्वीकार गरेका छन्। गत मंसिर २९ गते शुक्रबार स्वास्थ्यखबरले 'किन विश्व बैंकको कालो सूचीमा छन् विवादित स्वास्थ्य व्यवसायी नवराज बस्नेत?' शिर्षकको समाचार प्रकाशित गरेको थियो।
उक्त समाचार प्रकाशित भएपछि स्वास्थ्यखबरमा लिखित रुपमा आफ्ना भनाई पठाएका बस्नेतले विश्व बैंकसँग केही खरिदको विषयमा सन् २०१६ देखि नै विवाद रहेको विषय स्वीकार गरेका हुन्।
विश्व बैंकले बस्नेतसहित उनी प्रबन्ध निर्देशक रहेको कम्पनी नेशनल बायोमेडिकल प्राली 'अनियमितता, ठगी र भ्रष्टाचारजन्य कार्य'मा संलग्न रहेको पाएपछि कालो सूचीमा राखेको छ। बस्नेत र उनको कम्पनीले 'नेपाल सेकेन्ड हेल्थ, न्यूट्रीसन एन्ड पपुलेसन एन्ड एचआईभी/एड्स प्रोजेक्ट' अन्तर्गत काम गर्ने प्रक्रियामा किर्ते आर्थिक र अन्य दस्तावेजहरु तयार पार्नुका साथै परियोजना माताहतका सातवटा सम्झौताको क्रममा भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको तथ्य फेला पारेपछि विश्व बैंकले बस्नेतलाई र उनको कम्पनीलाई कालो सूचीमा राख्दै उनीसँगको कारोबार स्थगन गरेको थियो।
बस्नेतले स्वास्थ्यखबरलाई पठाएको पत्रमा विश्व बैंकसँग विवाद रहेको र विश्व बैंकको लगानीमा आफूले कुनै पनि काम नगरेको उल्लेख गरेका छन्। उनले विश्व बैंकसँग के विषयमा विवाद भएको र किन काम रोकिन पुगेको भन्ने विषय भने खुलाएका छैनन्। तर स्वास्थ्यखबरलाई विश्व बैंकबाट प्राप्त विवरण अनुसार विश्व बैंकको इन्टिग्रिटी भाइस प्रेसिडेन्सी (आईएनटी)ले तयार पारेको 'स्टेटमेन्ट अफ अक्युजन एन्ड एभिडेन्स'(आरोप र प्रमाणहरुको प्रतिवेदन)का आधारमा कारबाही प्रक्रिया अगाडि बढाएको उल्लेख छ।
हेरौं विश्व बैंकको प्रतिबन्धको सूचनामा उल्लेख विषय
विश्व बैंकले बस्नेतलाई सन् २०१८ अप्रिल १० देखि निरन्तर कालो सूचीमा र उनको कम्पनी नेशनल बायोमेडिकल प्रालीलाई सन् २०१८ अप्रिल १० देखि २०२४ अप्रिल ०९ सम्म कालो सूचीमा राखेको छ। विश्व बैंकले आफ्नो 'प्रोक्युरमेन्ट गाइडलाइन' (खरिद निर्देशिका) विपरित काम गरेको फेला परेपछि व्यावसायी बस्नेत र उनको कम्पनी नेशनल बायोमेडिकल प्रालीलाई कालो सूचीमा राखेको हो। बैंकको खरिद निर्देशिकाको ठगी र भ्रष्टाचार सम्बन्धी व्यवस्था अनुसार बस्नेत र उनको कम्पनीलाई कारबाही गरिएको विश्व बैंकले जनाएको छ। उक्त नर्देशिकाको ठगी र भ्रष्टाचार सम्बन्धी व्यवस्थाको १.१४ मा रहेको बुँदा अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको हो।
बस्नेत र उनी प्रबन्ध निर्देशक रहेको नेशनल बायोमेडिकल विश्व बैंकको कालो सूचीमा रहेको विवरण अहिले पनि बैंकको वेभसाइटमा हेर्न सकिन्छ। [यहाँ क्लिक गरेर हेर्न सकिन्छ।]
यसका साथै नेशनल बायोमडिकल प्राली सार्वजनिक खरिद अनुगमनको कार्यालयको पनि कालो सूचीमा परेको कम्पनी हो। सार्वजनिक खरिद अनुगमनको कार्यालयले उक्त कम्पनीलाई सन् २०१९ मे १७ देखि सन् २०२२ मे १६ सम्म कालो सूचीमा राखेको थियो।
हेरौं सूचना
बस्नेतले विश्व बैंकसँग सत्य कुरा गर्दा विवादमा परेको दाबी गरेका छन्। स्वास्थ्यखबरसँग कुरा गर्दै उनले भने 'विश्व बैंकका प्रतिनिधिले नेपालमा भ्रष्टाचार छ? कमिसनको काम हुन्छ? भनेर प्रश्न गर्दा मैले नेपालमा भ्रष्टाचार छ, कमिसन नदिइ त कामै हुन्न भनें। त्यसपछि उनीहरुले तपाईं पनि कमिसन दिनुहुन्छ भन्दा दिन्छु, कमिसन नदिई त कामै हुँदैन नेपालमा भनेर यथार्थ जानकारी दिँदा उनीहरुले विवादमा ल्याएका हुन्। सही विषय बोल्दा त्यस्तो भयो।'
बस्नेतले आफू नेपालमा हुने खरिद प्रक्रियालाई स्वस्थ प्रतिस्पर्धा र गुणस्तरीय सेवा प्रवाह गर्दै भ्रष्टाचार, मिलेमतो र अनियमितताको विरुद्धमा सक्रिय रुपमा अभियान चलाउँदै आइरहेको दाबी गरे।
विश्व बैंकले निकालेको सूचनाको पूर्णपाठ हेरौं