काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)मा विद्यार्थी भर्नाका क्रममा हुने म्याचिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरोकारवालासँग सुझाव माग गर्दै छलफल अगाडि बढाएको छ।
आयोगले पीजीमा विदेशी र छात्रवृत्तिका विद्यार्थीहरुलाई ओपन हाउस काउन्सेलिङ गर्दै म्याचिङ गर्दै आइरहेको छ भने खुला सिटमा अनलाइन मार्फत म्याचिङ गरिरहेको छ। खुलाको अनलाइन म्याचिङमा अटो अपेडट (भर्ना भइसकेकाको हकमा) प्रणाली नहुँदा गत वर्ष विवाद आएपछि आयोगले यस पटक विवादरहित ढंगले म्याचिङको काम अगाडि बढाउन सरोकारवालासँग सुझाव लिने उद्देश्यले छलफल अगाडि बढाएको हो।
आयोगले पहिलो चरणको छलफल बिहीबार गरेको छ। छलफलमा आयोग, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, काठमाडौं विश्विविद्यालय, प्रतिष्ठानहरु, नेपाल चिकित्सक संघका प्रतिनिधिहरु, वरिष्ठ चिकित्सक तथा विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो।
छलफलका क्रममा अधिकांशले हाल विदेशी र छात्रवृत्तिका विद्यार्थीहरुलाई गर्दै आएको ओपन हाउस काउन्सेलिङ जस्तै खुलाका विद्यार्थीलाई पनि गर्न सकिने सुझाव दिएका थिए। सफ्टवेयर मार्फत हुने अनलाइन म्याचिङमा अटो अपडेटेड प्रणाली नहुँदा योग्यता क्रममा अगाडि रहेका विद्यार्थीले रोजेको विषय पढ्न नपाउने तर योग्यताक्रममा पछाडि रहेकाले पाउने अवस्था रहेकोभन्दै त्यस्था समस्या समाधान गर्दै सफ्टवेयरलाई नै बलियो बनाउने सुझाव पनि आएको छ।
गत वर्ष योग्यताक्रममा अगाडि रहेका केही विद्यार्थीले प्राथमिकतामा राखेका विषयमा भर्ना नहुँदा (कोही विदेश गएको त कोहीले भर्ना नै नगरेका वा अन्य कारणले ती विषयमा भर्ना नभएको) ती विद्यार्थीभन्दा योग्यतामा लगत्तै तल्लो तहमा रहेका विद्यार्थीले उक्त विषय रोज्न नपाउँदा विवाद सिर्जना भएको थियो। त्यस्तो समस्या समाधानका लागि विद्यार्थीहरुले अटो अपडेटेड सिस्टम हुनुपर्ने माग राखेका थिए। तर हालको सफ्टवेयरमा भर्ना भइसकेका विद्यार्थीहरुको अटो अपडेटेड नहुने समस्या रहेको र अटो अपडेट कहिलेसम्म गरिरहने भन्ने प्रश्न उठिरहेको अवस्थामा आयोगले विद्यार्थीको समस्या समाधान गर्न छलफल चलाएको हो। यसका साथै छलफलमा पीजीमा प्रसूति बिदाका विषय पनि उठेको थियो।
आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले पीजीका विद्यार्थीहरुको भर्नाका क्रममा हालसम्म उठेका प्रश्न र विवादको समाधान गर्दै प्रभावकारी र व्यवस्थित रुपमा म्याचिङ र भर्नाको काम अगाडि बढाउन सुझाव लिने काम सुरु गरिएको जानकारी दिए।
'अनलाइन म्याचिङ र ओपन हाउस कान्सेलिङका फाइदा र सुधार गर्नुपर्ने पक्षहरुका विषयमा छलफल भइरहेको छ,' उनले भने, 'सरोकारवाला निकायहरुसँगको छलफल र सुझावका आधारमा हामीले पीजीको म्याचिङ अनलाइन नै गर्नेकी ओपन हाउस गर्ने भन्ने निर्णय लिने छौं।' उनले म्याचिङ प्रक्रियालाई विवादरहित बनाउँदै विद्यार्थीका समस्या समाधान गर्नेतर्फ आयोग लागिरहेको जानकारी दिए।