अल्जाइमर्स एक प्रकारको स्मृति क्षय हुने रोग हो। कति बिरामीहरु उपचारका लागि सुरुवाती अवस्थामा आइपुग्ने गर्छन् भने धेरै बिरामीहरु चिकित्सक कहाँ आइपुग्दा अवस्था जटिल भइसकेको हुन्छ। विगतमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेको मेरो अनुभवका आधारमा शहरी भेगका बिरामीहरुमा यसबारेमा राम्रो ज्ञान भएको मैले थाहा पाए। मेरो जीवनकालमा सामान्य तथा जटिल खालको अल्जाइमर्सको समस्या भएका बिरामीहरुको उपचार गर्ने मौका पाएको छु। जसमा सम्झन लायक दुईवटा केशलाई म यहाँ उल्लेख गर्न चाहन्छु।
मसँग अल्जाइमर्सको उपचारका लागि ८० वर्षीया आमा आइपुग्नु भएको थियो। जो आफूले खाए या नखाएको समेत याद गर्न सक्नुहुँदैन थियो। दिनभरी बुहारीले उहाँको खानपानमा विशेष ख्याल गर्दै बुहारीले खाना खाजा खुवाउने गर्थिन्। आमाले भने बुहारीले दिउँसोभरी केही खान दिईन भन्दै साँझ छोरालाई कुरा लगाउने गर्थिन्। यसले पारिवारिक जीवनमा कलह पैदा गरायो।
उनीहरुले आकस्मिक रुपमा आमामा आएको परिवर्तन पश्चात् स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याएका थिए। यो अल्जाइमर्सको सामान्य अवस्थाको बिरामीको उदाहरण हो। त्यस्तै धेरै जटिल अवस्थाका बिरामीहरु म कहाँ आइपुग्नु भएको छ। हाल म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छु। त्यहाँ दुर्गम क्षेत्रबाट जटिल अवस्थामा मात्रै बिरामीहरु उपचारका लागि आइपुग्ने गर्छन्। बढ्दो उमेरमा बिर्सनु भनेका सामान्य नै हो भन्ने त्यहाँका मानिसहरुलाई लाग्ने गर्छ। अल्जाइमर्सका कारण जटिल अवस्थामा पुगी घर परिवारले सम्हाल्नै नसक्ने अवस्थामा बिरामीहरु अस्पताल आइपुग्छन्।
रोल्पाका एक ज्येष्ठ नागरिक पुजा कोठामा गएर दिसा पिसाब गरेर त्यसले नै लिपपोत गर्ने अवस्थामा पुगेका थिए, तब मात्रै परिवारले उनलाई उपचारका लागि अस्पताल ल्याएका थिए। रोग निदानका क्रममा उहाँलाई अल्जाइमर्स भएको मैले पत्ता लगाएँ।
अल्जाइमर्स एक प्रकारको दीर्घकालीन रोग हो। सुरुवाती अवस्थामा यसका लक्षणहरु सामान्य हुन्छन्। सामान्यदेखि जटिल अवस्थासम्मका बिरामीहरुको उपचार गरेको अनुभव मसँग छ।
अल्जाइमर्स एक पटक लागेपछि पूर्णरुपमा निको बनाउन सकिने रोग होइन। यसलाई नियन्त्रण गरिएपनि पूर्णरुपमा निको भने बनाउन सकिदैंन। उपचारका लागि आएका बिरामीहरुलाई अझै उक्त रोग बढ्न नदिनका लागि औषधि दिने गरिन्छ।
अल्जाइमर्स रोग जटिल बन्दै जाँदा बिरामीमा मानसिक समस्या समेत देखिनेगर्छ। जटिल अवस्थाका बिरामीहरु कराउने, चिच्चाउने तथा निर्वस्त्र भएर समेत हिँड्ने गर्छन्। अल्जाइमर्स रोगले ग्रसित हुँदा बिरामीले देखाउने आपत्तिजनक व्यवहारका कारण परिवारलाई ठूलो आघात पुगेको हुन्छ। अल्जाइमर्सको उपचारपश्चात् बिरामी शान्त हुन्छन् भने परिवारले भिन्नै प्रकारको आनन्दको महसुस गर्छन्। अल्जाइमर्स हुँदा बिरामीले जीवनपर्यन्त औषधिको सेवन गर्नुपर्ने हुन्छ।
अल्जाइमर्स सानादेखि ठूलो जोसुकैलाई पनि लाग्ने रोग हो। मेरो उपचार अनुभवमा दुर दराज समाजबाट अपहेलित भएका तथा सम्पन्न सहरी क्षेत्रका बिरामीसमेत आइपुग्ने गर्नुभएको छ। सर्वाेच्च अदालतका न्यायाधिशसमेत अल्जाइमर्स रोगको उपचारका लागि मकहाँ आइपुग्नु भएको छ।
अल्जाइर्सको उपचारका लागि कस्तो व्यवस्था आवश्यक
यो शल्यक्रिया गरेर उपचार गरिने रोग होइन। अल्जाइमर्स भइसकेपछि करिब १ लाख बराबराको उपचार सरकारले निःशुल्क रुपमा गर्ने व्यवस्था रहेको छ। अल्जाइमर्सको रोकथामका लागि नेपाल सरकारले तदारुकता देखाएको छ भन्ने उदाहरण पनि हो यो।
यसको औषधि विकास तथा प्रयोग अनुसन्धान कै चरणमा छन्। अल्जाइमर्स लागिसकेपछि निगरानीको आवश्यकता पर्ने भएकोले बिरामीको स्याहारका लागि परिवारलाई पनि दबाब पर्नेगर्छ। अल्जाइमर्स रोग लागिसकेपछि पक्षघात, हृदयघात लगायत अन्य रोगले समेत चाँडै नै आक्रमण गर्न सक्ने भएकोले सरकारले स्वास्थ्य बीमाको दायरालाई बढाई ५ लाख बराबरको उपचार सेवा निःशुल्क बनाउन आवश्यक छ। एक लाख बराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा लिने प्रक्रिया निकै नै झन्झटिलो भएकोले यसलाई सरल बनाउँदै लैजान आवश्यक छ।
रोगको समयमै पहिचान तथा उपचारका लागि जनचेतना बढाउन सकेको अवस्थामा सुरुवाती अवस्थामा नै उपचार हुँदा निको हुने दर राम्रो हुन्छ।
अल्जाइमर्स के हो?
यो ज्येष्ठ नागरिकमा देखापर्ने मस्तिष्कसम्बन्धी एक समस्या हो। जसको मुख्य लक्षण भनेका बिर्सदैं जानु हो। त्यसकारण बिर्सने समस्यालाई नै अल्जाइमर्स रोग भनिन्छ। उमेर जति ढल्किदैं जान्छ यो रोग लाग्ने सम्भावनासमेत बढ्दै जाने गर्छ। संख्याको हिसाबले भन्ने हो भने कूल जनसंख्याको ४ प्रतिशतमा अल्जाइमर्सको समस्या देखापर्ने गर्छ।
तर ८५ वर्षभन्दा माथिका मानिसहरुमा भने करिब ४० देखि ५० प्रतिशत यो रोग हुने सम्भावना हुन्छ। त्यसैले जति उमेर ढल्दै जान्छ अल्जाइमर्सको सम्भावना पनि बढ्दै जान्छ।
लक्षणहरु
यसका लक्षणहरुलाई सुरुवाती अवस्था, कम कडा र अत्यन्तै कडा गरी विभाजन गरिएको छ। सुरुवाती अवस्थामा बिरामीहरुले भर्खर भर्खरका कुराहरु बिर्सेने गर्छन्। जस्तै खाएका कुराहरु बिर्सिने,सामान राखेको स्थान बिर्सिने, हराउने जस्ता समस्याहरु सुरुवाती अवस्थामा देखिने गर्छन्।
कम कडा अवस्थामा बिरामीहरुले एउटै कुरा पटक पटक भन्ने, घरको बाटो बिर्सने जस्ता लक्षणहरु देखापर्ने गर्छ।
बिस्तारै यो रोग बल्झिदैं जाँदा घरपरिवारका सदस्यहरु नै नचिन्ने अवस्था आउने, पूर्व जानकारी भएका स्थानहरु समेत बिर्सने,अति शंका गर्ने जस्ता लक्षणहरु देखापर्ने गर्छन्।
शाकाहारी ज्येष्ठ नागरिकमा अल्जाइमर्सको जोखिम बढी?
लामो समयदेखि शाकाहारी जीवनशैली अपनाउने ज्येष्ठ नागरिकहरुमा अल्जाइमर्सको जोखिम अन्यमा भन्दा बढी हुने गर्छ।उनीहरुमा भिटामिन बी१२ को कमी हुने भएकोले अल्जाइमर्सको जोखिम बढी हुने गरेको हो। चिकित्सककहाँ आइपुगेका बिरामीहरुलाई अवस्था अनुसार औषधि दिने गरिन्छ।
अल्जाइर्सको रोकथाम कसरी गर्ने?
जुन कारणले अल्जाइमर्स हुने जोखिमलाई बढाउने गर्छ,त्यसलाई सुरुवाती अवस्थामा ने पहिचान गरी नियन्त्रण गर्न सकेको अवस्थामा अल्जाइमर्सको जोखिमलाई कम गर्न सकिन्छ। उच्च रक्तचापले अल्जाइमर्सको जोखिमलाई बढाउने गर्छ। त्यसकारण सकेसम्म रक्तचापलाई सन्तुलनमा राख्न सक्नुपर्छ। त्यस्तै मधुमेह, अत्याधिक मोटोपना, टाउकोमा लाग्ने चोटपटक, सामाजिक रुपमा निष्क्रिय जीवनशैली लगायतका कारण अल्जाइमर्सको जोखिम बढ्ने गर्छ।
अल्माइमर्स ज्येष्ठ नागरिकहरुलाई लाग्ने रोग हो। समाजले ज्येष्ठ नागरिकलाई हेर्ने दुष्टिकोणमा परिवर्तन गर्न नसकेको अवस्थामा ज्येष्ठ नागरिकको स्वास्थ्यको ख्याल गर्न तथा समयमा नै उपचार प्रक्रियामा लान सकिँदैन। समाजमा बालबालिकालाई गर्ने खर्चलाई लगानी भनी बुझ्ने तथा ज्येष्ठ नागरिकमा हुने खर्चलाई अनावश्यक खर्चका रुपमा हेर्ने प्रचलन रहेको छ। उनीहरुको स्वास्थ्यलाई व्यक्ति परिवार, समाज र राज्यले नै प्राथमिकताको सूचीमा राख्नु आवश्यक देखिएको छ। ज्येष्ठ नागरिकको उपचारका लागि सरकारले प्रत्येक स्वास्थ्य संस्थाहरुमा ज्येष्ठ नागरिक उपचार विभागको व्यवस्था गर्न आवश्यक छ।
(राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कंडेलसँग स्वास्थ्यबरकर्मी लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)