बाक्लो चमकदार कपाल बनाउने चाहाना सबैको हुन्छ। यो आधुनिक जमानामा गुणस्तरीय खानाको अभाव, अब्यबस्थित जिवनशैलि. निद्राको कमि, अनावश्यक मानसिक तनाव आदिका कारण कम उमेरमा नै कपाल झर्ने समस्या देखिन थालेको छ। कपाल झर्ने समस्यालाई एलोपेसिया भनिन्छ। आयुर्वेदमा एलोपेसियालाई खालित्य रोग भनिन्छ। आचार्य वागभटले खालित्यलाई शिरोरोग अन्तरगत नै वर्णन गर्नुभएको छ।
पुरुषहरुमा देखिने कपाल झर्ने समस्या (मेल प्याटर्न बाल्डनेस) का सातवटा ग्रेड बताइएको छ। उक्त स्केललाई नरऊड स्केल भनिन्छ। उक्त स्केलहरुमा कपाल झर्न सुरु हुनेदेखि लिएर पुरै तालुपनासम्मका अवस्थाहरुको वर्णन गरिएको छ। कपालका जरा कमजोर हुँदै जाँदा कपालको जरा (हेयर फोलिकल) नष्ट हुँदै गएर पूर्णरुपमा तालुपनाको स्थिति उत्पन्न हुन्छ। जलौका चिकित्सा (लिच थेरापि) आयुर्वेदको रक्तमोक्षण चिकित्सा अन्तर्गतको अनुसस्त्रद्वारा गरिने पाँच प्रकारको चिकित्सा मध्येको दोस्रो चिकित्सा पद्धति हो। विशेषगरी पित्तज रोगसँग सम्बन्धित समस्याहरुमा जलौकाको प्रयोग गर्नुपर्ने बताइएको छ। आयुर्वेद अनुसार कपाल झर्ने समस्याको मुख्य कारण पित्त दोषको प्रकोपलाई मानिएको छ। अधिक पिरो अमिलो नुनिलो उष्ण आहार चिन्ता शोक आदि पित्त दोष प्रकोप गराऊने आहार बिहारहरु हुन्।
कपाल झर्न रोक्न वा नयाँ कपाल उमार्नका लागि कपालको जरासम्म कपालका लागि चाहिने आईरन क्याल्सियम प्रोटिन जस्ता पोषक तत्वहरु रगतको माध्यमद्वारा पुर्याउनुपर्ने हुन्छ। जुकाले तालुमा टोकाउँदा उक्त स्थानमा रहेको क्यापिलरी लेभलका अशुद्द रगतहरु जुकाले चुसिदिन्छ। कपालको जरामा पुग्ने रगतको मात्रा बढी गराइदिन्छ। माईक्रो सर्कुलेसन बढी हुन्छ र कपालको जराले पाउनुपर्ने पोषण उचित तवरबाट प्राप्त गर्दछ। त्यसपश्चात् कपालको जरा बलियो हुँदै जान्छ। हेयर फोलिकल नष्ट नभएको ठाउँमा नयाँ कपाल उम्रिन थाल्छ।
साथै जुकाले रगत चुस्ने स्थानमा विभिन्न इन्जाइम एन्टिइन्फ्लामेटरी तत्व एन्टिक्वागुलेन्टहरु छाडेको हुन्छ। उक्त तत्वहरुको प्रभावले गर्दा कपालको जरामा भएको इन्फ्लामेसन कम हुन्छ। कपालको जरासम्म रक्त संचालन यथेस्ट हुन्छ। लिच थेरापीमा प्रयोग गरिने जुकाहरु निर्विष जुकाहरु भएकाले अन्य दुष्प्रभावको सम्भावना हुँदैन। मेडिसिनल लिचको प्रयोग पहिले देखिनै हुँदै आएको छ। कतिपय प्लास्टिक सर्जरीहरुमा पनि लिचको मेडिकल प्रयोग गर्ने गरिन्छ। तसर्थ जलौका चिकित्सा प्रभावकारी र सुरक्षित मानिन्छ।
कपाल झर्ने समस्याका लागि सामान्यतया लिच थेरापीको अवधि दुई महिनाको हुने गर्दछ। दुई महिनाको अवधिमा चार पटक जलौका कर्म गरिन्छ। एकपटकमा एलोपेसियाको ग्रेड अनुसार बढीमा तीनवटा सम्म जुकाको मद्दतले रगत चुसाइन्छ। एकपटकमा एउटा जुकाले लगभग दश एमएल रगत चुस्दछ। एक पूर्ण जलौका सेसनका लागि एकदेखि दुई घण्टासम्म समय लाग्दछ। जलौका कर्म विभिन्न आयुर्वेद अस्पताल क्लिनिकहरुमा हुने गर्दछ। आयुर्वेद चिकित्सकको निगरानीमा रहेर मात्रै लिच थेरापी गराउँदा ऊच्चतम लाभ प्राप्त गर्न सकिन्छ।