धरान- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक कक्षमा बिरामीका कुरुवाले पनि कार्ड लिनुपर्ने नियम लागू गरेको छ।
आईतबारबाट लागु गरिएको कुरुवा कार्ड लिनका लागि ५ सय रुपैयाँ धरौटी राख्नुपर्ने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले यस्तो नियम लागू गरेपछि बिरामीका आफन्तहरुले ५ सय रुपैयाँ धरौटीको व्यवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन्।
धनकुटाबाट बिरामी लिएर आएका शंकरकुमार राईले प्रतिष्ठानमा बिमाबाट उपचार गराउन आउने, आर्थिक अवस्था नाजुक भएका धेरै हुने भएकाले कार्डको व्यवस्था प्रतिष्ठानले निशुल्क गर्नु पर्ने बताए। उनले भने, ‘जे गर्दा पनि बिरामी पक्षलाई नै मारमा पार्ने चलन छ। निजी अस्पतालमा पनि नभएको नियम लागू गर्नु गलत हो।’
प्रतिष्ठानको आकस्मिक कक्षमा बिरामी पुर्याउने वित्तिकै बिरामी दर्तासँगै आकस्मिक कक्षको काउन्टरमा ५ सय रुपैयाँ बुझाएर कुरुवा कार्ड लिनुपर्ने प्रतिष्ठानले जनाएको छ। बिरामी डिस्चार्ज वा वार्ड स्थानान्तरण गरेपछि धरौटी रकम फिर्ता गरिने प्रतिष्ठानका सहप्रवक्ता डा चूरामणि पोखरेलले बताए।
बिरामीका कुरुवाहरुले आकस्मिक कक्षमा जटिल स्वास्थ्य समस्या भएकाहरु ल्याईने भएकाले एक जना बिरामीका लागि एउटा मात्र कुरुवा कार्डको व्यवस्था गरिंदा समस्या भएको गुनासो गरेका छन्। सहप्रवक्ता डा पोखरेल भने बिरामीको अवस्था हेरी चिकित्सकले दुईजनासम्म कुवालाई अनुमति दिन सक्ने बताउँछन्।
आकस्मिक कक्षमा भिडभाड हुँदा गुणस्तरीय र प्रभावकारी सेवा दिन समस्या भएकाले यस्तो व्यवस्था गर्नु परेको उनले बताए। उनले बिरामीका अन्य कुरुवाका लागि बस्ने फलैंचा बाहिर राखिएको र कार्डको दुरुपयोग नहोस भनेर कोड नम्बर पनि राखिएको बताए।