काठमाडौँ- सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सात जनाको बिना अप्रेसन मुटुको भल्व प्रत्यारोपण गरिएको छ।
आइतबार केन्द्रको वार्षिकोत्सव समारोहमा बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले उक्त जानकारी दिएका हुन्। नेपालमै पहिलोपटक गत वर्षको फाल्गुन १६ गतेबाट बिना अप्रेसन मुटुको भाल्व प्रत्यारोपण सेवा सुरु भएको थियो।
त्यस्तै कार्यक्रममा बोल्दै अधिकारीले सन् २०२२ मा १ लाख ६१ हजार ६६४ जनाले बाहिरंग सेवा, १२ हजार ५८१ जनाले अन्तरंग सेवा, १८ हजार ७९ जनाले आकस्मिक सेवा र १ हजार ६०७ जनाले शल्यक्रिया सेवा लिएको बताए।
साथै, केन्द्रमा संचालित स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्म १७ हजार बिरामीहरु लाभान्वित भएका छन्।
केन्द्रमा बढ्दै गईरहेको बिरामीको चापलाई मध्यनजर गरेर २०० शैयाको अत्याधुनिक बाल मुटुरोग भवन
निर्माणको योजना भएको पनि अधिकारीले जनाए। 'बाल मुटुरोग भवन निर्माणको लागि डीपीआर तयार गरि मन्त्रालय पठाईसकेका छौँ। आगामी बजेटमा भवनको लागि बजेट छुट्याइन्छ भन्ने आशा गरेका छौँ,' उनले भने।
२०५२ सालमा स्थापना हुँदा ९ शय्याबाट सुरु भएको केन्द्रमा हाल २७० शय्या संचालनमा रहेको छ।