काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकता प्रकरणमा दोषी ठहर भएका छन्। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई नागरिकता प्रकरणमा दोषी ठहर गरेको हो।
यससँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनको सांसद पद गएको छ। लामिछानेविरुद्ध दायर भएको रिट जारी गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज हुने फैसला सुनाएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री छन्।
लामिछानेले नेपाली नागरिक नै नभई उम्मेद्वार भएर संघीय सांसद समेत बनेकाले उनको सांसद पद निलम्बन गर्नुपर्ने माग राख्दै रिट दायर भएको थियो।
सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासले उक्त रिटको फैसला गर्दै सांसद पद खारेज हुने फैसला सुनाएको हो।
अधिवक्ता रविराज बसौला र युवराज पौडेलले लामिछानेले अमेरिकी नागरिकता लिएपछि कायम नरहेको नेपाली नागरिकतालाई स्वघोषणा गरी कायम रहेको भन्दै सोही नेपाली नागरिकताको आधारमा पार्टी दर्ता गरेको र संघीय चुनाव समेत जितेकाले उनकाे सांसद पद निलम्बन गर्नुपर्ने माग राख्दै रिट दायर गरेका थिए।