काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल ट्विटरमार्फत दुर्घटनामा परी निधन भएका यात्रुप्रति श्रद्धासमुन प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर–११ झुप्राखोलामा दुर्घटना भई आज चार यात्रुको ज्यान गएको थियो।
मृत्यु हुनेमा २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गा.पा.–५ बस्ने वर्ष ३३ का दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका– ५ बस्ने वर्ष ३१ का बबिन शाही, दैलेख गुराँस गापा–३ बस्ने वर्ष ३६ का राजेन्द्र बीसीको उपचारका क्रममा निधन भएको प्रहरीको भनाइ छ।
उनीहरु सबै स्वास्थ्यकर्मी हुन्। दिपेन्द्र दैलेख डुंगेश्व गाउँपालिका स्वास्थ्य शाखामा, बबिन भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखामा, राजेन्द्र गुँरास गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत थिए। सागर भने सवारी चालक हुन्।
त्यसैगरी, दैलेख भैरवी गापा– ५ बस्ने वर्ष २६ का वीरेन्द्रराज शाहीको छातीमा गम्भीर चोट लागेको हुँदा उपचार भइरहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।
प्रधानमन्त्री प्रचण्डले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले घाइते यात्रुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।