काठमाडौं- नेपाल चिकित्सक संघको नयाँ कार्य समितिका लागि उपत्यका बाहिर भएको निर्वाचन सम्पन्न भएको छ। माघ ६ र ७ गते उपत्यका बाहिर भएको निर्वाचनमा कुल ३ हजार ६५० मत खसेको छ।
निर्वाचनको पहिलो दिन १ हजार ८७९ र दोस्रो दिन १ हजार ७७१ जनाले मतदान गरेको संघले जनाएको छ। १६ वटा शाखामा मतदान भएको थियो। मतदानको दोस्रो दिन चितवनमा सबैभन्दा धेरैले मतदान गरेका छन्।
दोस्रो दिन भेरीमा ९९, चितवनमा २७०, दाङमा ५०, धरानमा ११३, गण्डकीमा २०६, जनकपुरमा २३६ जनाको मत खसेको छ भने जुम्लामा कसैले पनि मतदान गरेनन्।
कोशीमा २०२, लहानमा २३, लुम्बिनीमा १२८, मेचीमा ६४, नारायणी १९८, पाल्पामा २९, सगरमाथामा १०, सेतीमा १२९ र सुर्खेतमा १४ जनाले मतदान गरेको संघले जनाएको छ।
कुल कुन शाखामा कति भोट खसे?
यो दुई दिनमा सबैभन्दा धेरै चितवनमा र सबैभन्दा कम जुम्लामा मत खसेको छ। भेरीमा कुल १९७, चितवनमा ५३०, दाङमा ९६, धरानमा २८५, गण्डकीमा ४०६, जनकपुरमा ३९३, जुम्लामा २३, कोशीमा ४९३, लहानमा ४३, लुम्बिनीमा २६५, मेचीमा १५५, नारायणीमा ४००, पाल्पामा ६३, सगरमाथामा ५०, सेतीमा २०२ र सुर्खेतमा ४९ जनाले मतदान गरेका छन्।
काठमाडौं भित्र भने यही माघ १९, २० र २१ गते मतदान हुँदैछ। एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्क्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुँदैछ।
निर्वाचनमा डा अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह र डा शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल चुनावमा होमिएको छ।