काठमाडौं- वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथ ल्याबको उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्किले उक्त ल्याबको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री गिरीले सुलभ स्वास्थ्य सेवा सबै जनताको पहुँचसम्म पुर्याउन मिलेर काम गर्नुपर्ने बताए। उनले भने, `विपन्न, गरिब नागरिकहरूसम्म स्वास्थ्य सेवा पुग्नुपर्छ। त्यसको लागि हाम्रो दायित्व छ। हामीले मिलेर काम गर्नुपर्छ। संरचनात्मक सुधारहरू गर्नुपर्ने कुराहरू छ। त्यो हामी गर्छौँ। सबै जनताको पहुँचमा स्वास्थ सेवा पुर्याउन जरूरी छ।´
स्वास्थ्य राज्यमन्त्री डा कार्किले अस्पताललाई आवश्यक सहयोग गर्ने बताइन्। `अस्पताललाई आवश्यक सहयोग गर्नेछौँ। साथै दरबन्दीको लागि पनि तुरुन्तै काम गर्नेछौँ। उच्च मनोबलको साथ काम गर्नुहोला। हामी तपाईसँगै छौँ,´उनले भनिन्।
स्वास्थ्य सचिव डा पोखरेलले चार जना डिएम भएको ठाँउमा एउटा क्याथ ल्याव आवश्यक हुन्छ भन्ने महसुस भएर यो सेवा विस्तार गरिएको बताए।
कार्यक्रममा अस्पतालका डा निर्देशक भुपेन्द्र बस्नेतले अस्पतालको बारेमा जानकारी दिँदै नर्सिङ जनशक्ति, एमआरआइ,सिटी स्क्यान मेसिनहरू थप्न अनुरोध गरेका थिए। साथै उनले मन्त्रालयबाट अस्पतालले पाउनुपर्ने अनुदान बढाउन पनि माग गरे। क्याथल्याबमा मुटुको प्राइमरी एन्जिओप्लाष्टिकका लागि शल्यक्रिया गरी नशा खोलेर बचाउने गरिन्छ। डा बस्नेतले क्याथल्याब सञ्चालन भएपछि कुनै पनि मुटुका बिरामीको उपचार यहीअस्पतालमै गर्न सकिने जानकारी दिए। उनका अनुसार अस्पतालमा दैनिक दुई सय जति मुटुका बिरामी उपचारका लागि आउने गर्दछन्। तीमध्ये दैनिक चार÷पाँचजना बिरामीको क्याथल्याब गर्नुपर्ने हुन्छ। कतिपय क्याथल्याब गर्नुपर्ने बिरामीलाई अस्पतालले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पठाउने गर्दथ्यो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा देवनारायण साहले अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउन क्याथल्याब सेवा सुरु गरिएको बताए।
अस्पतालका कार्डियोलोजिस्ट डा समीर पौडेलले क्याथ ल्याब संचालनमा आएकोमा खुसी व्यक्त गर्दै अबका दिनमा बिरामीलाई सहज हुने बताए। उनले वीरमा मासिक रूपमा करिब ५० जना क्याथ ल्याब आवश्यक भएका बिरामी अस्पताल आइपुग्ने बताए। `अब ती बिरामीलाई अन्त रेफर गर्नुपर्ने समस्या बिस्तारै कम हुन्छ,´ उनले भने।
कार्यक्रममामा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिवद्वय डा रोशन पोखरेल र देवकुमारी गुरागाईँको पनि उपस्थिति थियो। मन्त्री गिरी र राज्यमन्त्री कार्कीले अस्पतालको हेमोडाइलासिस वार्ड लगायतका वार्डहरू निरीक्षण पनि गरेका थिए।