काठमाडौं- पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ।
कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिइसकेको हुनाले उनको अबको उपचार प्रत्यारोपण नै रहेको सुमेरु सिटी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्राडा युवराज शर्माले स्वास्थ्यखबरलाई बताए।
'सामान्यतया ८५ प्रतिशतसम्म कलेजो बिग्रिसकेपछि प्रत्यारोपणको कुरा आउँछ,' डा शर्माले भने, 'हामीले त्यही अनुसार सल्लाह दिएका छौं।'
'अब उपचारले मात्रै कलेजोमा सुधार आउँदैन' शर्माले भने, उहाँसँग मिल्ने व्यक्तिको कलेजो खोजेर प्रत्यारोपण गर्नुपर्छ। प्रत्यारोपणका लागि उपयुक्त अस्पताल खोज्नसमेत भनिएको छ।'
पुनको पेटमा दुई महिनादेखि पानी जम्ने समस्या देखिएको छ। सुमेरु सिटी अस्पतालमा ल्याइएपछि पुनको पेटबाट पानी निकालिएको छ।
नेपालमै नियमित रुपमा कलेजो प्रत्यारोपण नभइरहेको अवस्थामा प्रत्यारोपण कहाँ गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए।
नेपालमा त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ।
पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अस्पताल पुगेका छन्। ललितपुरस्थित सुमेरु अस्पतालमा पुगेर उपराष्ट्रपतिले बिरामी पुनलाई भेटेका हुन्।
हीजोमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए।