काठमाडौं- मंगलबार स्वास्थ्य राज्यमन्त्री बनेकी डा तोसिमा कार्की नयाँ अनुहारका रुपमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यमा प्रवेश गरेकी हुन्।
घण्टी चिह्नमा चुनाव लडेकी उनी पेसाले पाटन अस्पतालमा चिकित्सक (जनरल सर्जन) थिइन्। उनले सो पदबाट राजिनामा दिएर निर्वाचनमा होमिएकी थिइन्। पिता पदमबहादुर कार्की र माता दीपा कार्कीका छोरी डा तोसिमाको जन्म विसं २०४६ मा भएको हो।
ललितपुर महानगरपालिका १८ नख्खुखोला मार्ग निवासी डा तोसिमाले कक्षा दशसम्मको अध्ययन स्थानीय शहीद धर्मभक्त विद्यालयमा गरेकी थिइन्। उनले मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा १२ तथा किष्ट मेडिकल कलेज, ललितपुरबाट एमबीबीएससम्मको अध्ययन पूरा गरेकी हुन्।
काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित पूर्व केन्द्रिय सदस्य समेत हुन्।
सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने उनले भूकम्पमा सिन्धुपाल्चोकको बतासे, रामेछाप, नुवाकोटको साल्मे, ललितपुरको ठूलादुर्लुङ लगायतका स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गरेकी तोसिमा सामाजिक न्यायका अभियान र भ्रष्टाचारविरुद्धका आन्दोलनमा समेत सक्रिय छिन्।
चिकित्सा शिक्षामा सबैको पहुँच पुग्नुपर्ने डा.केसीको अभियानबाट प्रेरित ३३ वर्षे डा. तोसिमाको चुनावी प्रतिबद्धतामा पनि त्यही विषय उल्लेख छ। सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहज पहुँच, १० प्रतिशत बेड विपन्न विरामीलाई छुट्याउनुपर्ने, अस्पतालमा विपन्न बिरामी कोषको व्यवस्था, क्यान्सरको स्क्रिनिङ कार्यक्रमहरु निशुल्क र अनिवार्य जस्ता एजेण्डा लिएरै तोसिमाले सांसद जितेकी थिइन्।