काठमाडौं–नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराती मन्त्री हुने भएका छन्। मंगलबार विस्तार हुन लागेको मन्त्रिपरिषदमा माओवादीले उनलाई पर्यटन मन्त्री बनाउने भएको छ।
किरातीले मन्त्री हुने भएपछि आफ्नो बुवासँग भएको संवाद सार्वजनिक गरेका छन्। आफ्नो पिताले मन्त्री हुने कुरा नपत्याएको बताउँदै ‘सपनामा कि बिपनामा’ भनेर सोधेको किरातीले उल्लेख गरेका छन्। उनका बुवा हर्कबहादुर राई प्यारालाइसिसका कारण अहिले ओछ्यानमै छन्।
यस्तो छ किरातीले सार्वजनिक गरेको संवाद् :
म- बुवा म मन्त्री हुने भए छु।
बुवा - हँ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि बिपना हो?
म - हो बुवा साँच्चै हो बिपना नै हो। (संस्कृति,पर्यटन तथा नागरिक उड्डयन)
बुवा- मन्त्री चाहि कसरी भइस? कसले गर्दा भइस्?
म - पहिलो त तपाईंहरूले जन्माउनु भयो, दोस्रो त मैले धेरै राजनीतिमा दु:ख गरे, तेस्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्यो।
बुवा- राम राम राम ! म उहिले फकल्यान्डको लडाइँमा मरेको भए यो दिन सुन्न र देख्न पाउँदिन थें!
म - म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो...।
बुवा- हाम्रो वंशमा वडा अध्यक्षसम्म कोही भएनौं, राम्रो गर्नू।
म - पाउनु ठूलो कुरा होइन, काम गर्नु ठूलो कुरा हो। म मेहनेत गर्छु। आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी सँगै हुन पाएको भए...।
बुवा- म गएपछि तेरो आमा सँग भेट हुन्छ नै होला म सबै भनिदिउँला। बुवा रूनु भो! म...!
सम्झे!
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि ऊ बेला धेरै रूनु भएको थियो। आज पनि उस्तै रूनुभयो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाव भने फरक।