काठमाडौं- प्रधानन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वास्थ्यकर्मी लगायत विशिष्टीकृत सेवाका श्रमिकहरुका सरोकारलाई सम्बोधन गर्न श्रम ऐनमा आवश्यक संशोधन गर्ने पनि बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
सरकारी, सामुदायिक र निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरीयता सुनिश्चितताका लागि अधिकार सम्पन्न नियमनकारी निकाय राष्ट्रिय प्रत्यायन प्राधिकरण गठन गर्ने आफ्नो सरकारको प्राथमिकता रहेको पनि प्रभानमन्त्री दाहालले बताए।
दाहालले सबै बालबालिकलाई पूर्ण खोप शुनिश्चित गर्ने, अधिकांश रोगको उपचार स्वदेशमा नै हुने प्रबन्ध गर्ने, आम नागरिकमा चिकित्सा सेवा पुऱ्याउन चिकित्सकहरूको संख्या बढाउने पनि बताएका छन्।
'सबै पालिकामा आधारभूत अस्पताल र प्रदेशहरूमा विशिष्टीकृत अस्पताल र मेडिकल कलेजहरू बनाइनेछ। गुणस्तरीय स्यानिटरी प्याडका लागि आर्थिक प्रत्याभूति, गुणस्तरीय प्रसूति सेवाको सुनिश्चितता, चिकित्सकहरूको संख्यामा वृद्धि, चिकित्सक र नर्सलाई सरकारी सेवामा आकर्षित गर्न सेवा सुविधामा पुनरावलोकनका लागि सरकार प्रतिवद्ध हुनेछ।' उनले भने।
दाहालले स्वास्थ्यकर्मी लगायत विशिष्टीकृत सेवाका श्रमिकहरूका सरोकारलाई सम्वोधन गर्न श्रम ऐनमा आवश्यक संशोधन गरिनेछ, सबै क्षेत्रको स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चितताका लागि अधिकारसम्पन्न प्राधिकरण बनाइने पनि बताए।