काठमाडौं- प्रधानन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिरामीले सामान्य शल्यक्रिया गर्न पनि चार महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले अस्पतालमा बिरामीहरुले लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिइसकेको बताए।
'अस्पतालमा सामान्य शल्यक्रिया गर्न समेत चार महिनासम्म लाइन बस्नुपर्ने अवस्था किन आयो', प्रधानमन्त्री दाहालले भने, 'अब यस्तो अवस्थाको अन्त्य गर्नुपर्छ।'
'सरकारी अस्पताल र सामुदायिक विद्यालयको स्तर किन खस्कियो? प्रविधिको यति धेरै विकास भइसक्दा पनि सरकारी अस्पतालमा नाम दर्ता गर्नसमेत घण्टौं किन लाग्छ? सरकारी अस्पतालमा सामान्य शल्यक्रिया गराउन पनि तीन–चार महिना किन कुर्नुपर्छ? अस्पतालका प्रयोगशाला र परीक्षण उपकरण किन महिनौँसम्म बन्दैनन्?,' उनले भने, ' अनुदानका सामग्री स्टोरमा किन थन्किन्छन् ? मैले सचिवज्यूहरूलाई भनिसकेको छु, सेवा प्रवाहलाई सहज र विकासको गतिलाई तीब्र बनाउन नीतिगत समस्या समाधानको जिम्मा म लिन्छु तर नतिजामुखी कार्यसम्पादनको जिम्मा तपाईहरूले लिनुपर्छ।'
सरकारी, सामुदायिक र निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरीयता सुनिश्चितताका लागि अधिकार सम्पन्न नियमनकारी निकाय राष्ट्रिय प्रत्यायन प्राधिकरण गठन गर्ने आफ्नो सरकारको प्राथमिकता रहेको पनि प्रभानमन्त्री दाहालले बताए।
दाहालले सबै बालबालिकलाई पूर्ण खोप शुनिश्चित गर्ने, अधिकांश रोगको उपचार स्वदेशमा नै हुने प्रबन्ध गर्ने, आम नागरिकमा चिकित्सा सेवा पुऱ्याउन चिकित्सकहरूको संख्या बढाउने पनि बताएका छन्।
'सबै पालिकामा आधारभूत अस्पताल र प्रदेशहरूमा विशिष्टीकृत अस्पताल र मेडिकल कलेजहरू बनाइनेछ। गुणस्तरीय स्यानिटरी प्याडका लागि आर्थिक प्रत्याभूति, गुणस्तरीय प्रसूति सेवाको सुनिश्चितता, चिकित्सकहरूको संख्यामा वृद्धि, चिकित्सक र नर्सलाई सरकारी सेवामा आकर्षित गर्न सेवा सुविधामा पुनरावलोकनका लागि सरकार प्रतिवद्ध हुनेछ।' उनले भने।