काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री दाबी गरेका थिए।
केन्द्रले आइतबार बेलुका भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई परेपछि प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गरेका थिए।
११ वर्षकै उमेरदेखि राजनीतिमा लागेका अधिकारी पहिलो पटक २०७० सालमा सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बनेका थिए। २०७४ को चुनावपछि प्रतिनिधि सभामा एमाले संसदीय दलको प्रमुख सचेतक बनेका अधिकारी १३ दिने गृहमन्त्री पनि हुन्।