काठमाडौं– निर्मला कुर्मीको न्यायका लागि माईतीघर मण्डलमा विरोध प्रदर्शन भएको छ। आइतबार महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै विरोध प्रदर्शन गरेका हुन्।
विरोध प्रदर्शनका क्रममा उनीहरुले ‘महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यु महिलाहरु सुरक्षित हुने कहिले? महिलाको बाँच्न पाउने अधिकार खोई, के महिला एकल हुनु पाप हो?’ लगायतका प्लेकार्ड बोकेर सांकेतिक विरोध जनाएका थिए।
विरोध कार्यक्रममा बोल्दै डा गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको १ वर्ष बितिसक्दासमेत सरकारले अपराधीलाई अनुसन्धानको कठघरामासमेत उभ्याउन नसकेको बताए। उनले सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने ठाउँमा उल्टै सांसद बनाएर राखेको बताए।
उनले देशमा अपराधीको स्थान कहाँ हो भन्दै सरकारसँग प्रश्नसमेत गरे। डा केसीले राजनीति शुद्धिकरण हुनुपर्नेमा भ्रष्टिकरण र अपराधिकरण भइरहेको बताए।
विरोध प्रदर्शनमा महिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिवद्धताबाट बारम्बार पछि हटिरहेको बताइन्। उनले अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गरिन्।
आन्दोलनकारी महिला अधिकारकर्मीहरुले सरकारले निर्मला कुर्मीका अपराधीलाई कारबाही नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। उनीहरुले आज (आइबार) माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकारको खोजी गरेका थिए।
अपहरण तथा शरीर बन्धक गरी हत्यासम्बन्धी घटना छानबिन गर्न सरकारले बनाएको छानबिन समितिले आरोपीतहरुलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएको थियो। तर, प्रहरीले घटनाका मुख्य अभियुक्त कांग्रेसका नेता तथा पूर्वमन्त्री बादशाह कुर्मीलाई प्रहरीले पक्राउ गरेको छैन।