काठमाडौं- नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले इन्टर मेडिकल कलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।
सानो भर्याङको भण्डारस्थित मैदानमा पाँच दिनसम्म लगातार भएको खेलमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका खेलाडी प्रथम भएका हुन्।
प्रतियोगितामा नेपाल मेडिकल कलेजका खेलाडीहरू दोस्रो भएका थिए। उपविजेता खेलाडीहरूले सिल्ड, मेडल र नगद पुरस्कार पाएका थिए। त्यसैगरी, बेस्ट अफ द प्लेयर’को उपाधि संस्थानका कार्यकारी निर्देशक प्रा डा नगेन्द्रबहादुर केसीले वितरण गरेका थिए।
नेपाली सेनाले आफ्नो जिम्मेवारीदेखि बाहेक अन्य अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ। सामाजिक गतिविधि, खेलकुद विकासमा, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि योगदान गर्दै आइरहेको नेपाली सेनाले जनाएको छ।
पाँच दिने प्रतियोगिता पुस १७ बाट २१ गतेसम्म सञ्चालन भएको थियो। बास्केटबल प्रतियोगितामा किस्ट मेडिकल कलेज, पाटन मेडिकल कलेज र नेपाल मेडिकल कलेज लगायतका देशभरका मेडिकल कलेजहरू सहभागी भएका थिए।
प्रतियोगिताको समापन समारोहमा चिकित्सा शास्त्र महाविद्यालय, नेपाल आर्मी व्यावसायिक तालिम इन्स्च्युट, कलेज अफ नर्सिङ महाविद्यालयका प्राचार्य, प्राध्यापक, प्रशासन प्रमुख, संकाय सदस्य, सैनिक अधिकृत, गैह्रसैनिक कर्मचारी र विभिन्न मेडिकल कलेजका प्रोफेसर लगायत करिब ९ सय संख्यामा सहभागीहरूको उपस्थित थियो।