काठमाडौं- गत आर्थिक वर्षमा कान्ति बाल अस्पतालमा एक लाख बढी बिरामीले ओपिडी सेवा लिएका छन्।
६१ औँ वार्षिकोत्सवको अवसरमा अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा १ लाख १६ हजार ४५३ जनाले ओपिडी सेवा लिएको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।
सोही अवधिमा ४४ हजार ८९२ जनाले इमरजेन्सी, २ हजार ५८७ जनाले स्वास्थ्य बीमा मार्फत सेवा लिएका छन्। २ हजार ५२६ जनाले शल्यक्रियाको सेवा लिएको अस्पतालका निर्देशक डा युवानिधी बसौलाले जानकारी दिए।
हाइड्रोशिलको निशुल्क शल्यक्रिया सेवा अन्तर्गत ११५ जनाले उपचार लिएका छन्। २४८ जनालाई नवजात शिशु निशुल्क उपचार, १३९ जनालाई मिर्गौला, २९४ जनाको क्यान्सर, १ हजार १८३ जनाको थालेसिमियाको उपचार निशुल्क गरेको प्रतिवेदनमा उल्लेख छ। गरिब तथा विपन्न वर्गलाई सामाजिक सेवा एकाई निशुल्क कार्यक्रम अन्तर्गत ९५८ जनाले सेवा लिएका छन्। अस्पतालको मृत्युदर ३ दशमलव ३ प्रतिशत छ।
कान्ति बाल अस्पतालमा सरकारी तर्फ २६४ र अस्पताल विकास समिति तर्फ २९६ गरी ५६० कर्मचारीको दरबन्दी छ।
तर दरबन्दी अनुसार कर्मचारी नभएको अस्पतालले जनाएको छ। हाल सरकारीतर्फ १८२, अस्पताल विकास समितिबाट १४५, सरसफाई कर्मचारी ७८, सुरक्षा गार्ड २४, काजमा आएका ५, काजमा गएका ९, छात्रवृत्तिमा २१ र मासिक ज्यालादारी ७९ जना गरी ५३४ जना कर्मचारी कार्यरत छन्।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले अस्पतालमा नपुगेको स्वास्थ्यकर्मीको दरबन्दी छिट्टै पुरा गरिने बताए।
उनले भने, ‘देशको सरकारी स्वास्थ्य सेवा प्रदानको क्षेत्रमा कान्ति अस्पतालको सेवा उदाहरणीय छ। हाल यही नर्स लगायतका स्वास्थ्यकर्मीहरुको दरबन्दी कम भएको भन्ने छ हामीले छिट्टै यो समस्याको पनि समधान गर्नेछौँ।’
५० शय्याबाट सुरु गरिएको अस्पताल २०१९ पौष २२ गते जनरल अस्पतालको रुपमा निर्माण गरिएको थियो। सन् १९७० मा १५० शय्याको बाल अस्पतालमा परिणत गरिएको थियो। त्यो बेला १४ वर्ष मुनिका बालबालिकाहरुको उपचार सुरु भयो।
सन् १९८३ मा चिकित्सा क्लिनिकको पहिलो नवजात शिशु सघन उपचार इकाई एनआईसीयूको सुरुवात गरिएको थियो।
२०७९/८० का योजनाहरु
कान्ति बाल अस्पतालले चालु आर्थिक वर्षमा विभिन्न योजनाहरु अघि सारेका छन्। आर्थिक वर्ष २०७९÷८० मा तीन वटा मोडुलर ओटी निर्माण गर्नुपर्ने निर्देशक बसौलाले बताए। ५२ शय्याको आइसीयू सेवा पूर्ण रुपमा सञ्चालन गर्ने र फार्मेसी काउन्टर विस्तार गर्ने अस्पतालको योजना छ।
रेडियोलोजी सेवा विस्तार गर्न दुई वटा युएसजी मेसिन र एक्सरे सेवाको लागि दुई वटा पोर्टेवल एक्सरे मेसिन थप गर्नुपर्ने भएकाले स्वास्थ्य मन्त्रालयसँग बजेट माग गरिएको उनले बताए। नयाँँ एमआरआई र सीटी स्क्यान सेवा प्रवाह हुने प्रक्रियामा रहेको, नाक, कान र घाटीको सेवा सुरु गर्ने, प्रयोगशाला सेवा बढाउने योजनामा रहेको उनले बताए।
फोहारमैलाको उचित व्यवस्थापन गर्न अटोक्लेभको व्यवस्थापन र लन्ड्रीको सेवा विस्तार गर्नुपर्ने आवश्यक रहेको उनले बताए। एक हजार शय्याको पूर्ण क्षमतामा अति विशिष्टीकृत बाल अस्पताल सञ्चालनमा ल्याउनुका साथै राष्ट्रिय बाल अध्ययन संस्थान स्थापना गर्ने अस्पतालको योजना छ।
आगामी दिनमा अस्पतालको सेवा थप प्रभावकारी बनाउँदै विस्तार गर्दै लैजाने निर्देशक बसौलाले प्रतिवद्धता जनाएका छन्।