काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सकेको छैन। सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबन्डा अझै मिलिसकेको छैन। दलहरु मन्त्रालयका विषयमा छलफलमै छन्।
पछिल्लो छलफल अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेकपा एमालेले दाबी गरेको छ। यसअघि स्वास्थ्य मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गर्दै आइरहेको थियो। तर स्वतन्त्र पार्टीलाई शिक्षा र श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमध्ये कुनै एक र थप अर्को कुनै एक मन्त्रालय रोज्न दलहरुले सुझावसहित आग्रह गरेका छन्।
'जनतासँग जोडिने मन्त्रालयहरु एउटै दलले मात्र लिन नहुने कुराहरु आइरहेका छन्। ठूला मन्त्रालयको भागबन्डासँगै जनतासँग जोडिने मन्त्रालय भाग लगाउने क्रममा एमालेले स्वास्थ्य लिने भनेको छ', छलफलमा सहभागी एक नेताले भने, 'स्वतन्त्र पार्टीलाई शिक्षा र श्रममध्ये कुनै एक र बाँकी अर्को मन्त्रालय लिन सुझाब दिइएको छ।'
स्वतन्त्र पार्टीबाट स्वास्थ्य मन्त्रीमा तीन जनाले दाबी गर्दै आइरहेका थिए। डा तोसिमा कार्की, डा चन्दा कार्की र डा ढाकाकुमार श्रेष्ठले मन्त्रीमा आकांक्षा देखाएका छन्। तर एमालेले स्वास्थ्यमा दाबी गरेसँगै एमालेभित्र को स्वास्थ्य मन्त्री हुन्छ भन्ने छलफल सुरु भएको छ। एमालेले अब हुने मन्त्रिपरिषद विस्तारमा यसअघि मन्त्री नभएकाहरुलाई पठाउने तयारी गरेको छ।
एमालेका एक नेताका अनुसार एमालेको भागमा तीन मन्त्रालय भएमा तीनै जना नयाँ र पाँच मन्त्रालय पाएको खण्डमा दुई जना पुरानै नेता मन्त्री हुने सम्भावना रहेको छ। नयाँमा सांसदहरु छविलाल विश्वकर्मा, विद्या भट्टराई, पदम गिरी, ठाकुर गैरे, भगवती चौधरीलगायत मन्त्री हुनेको सूचीमा छन्। यस्तै पुराना अनुहारमा योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ र टोपबहादुर रायमाझीमध्ये २ जनाले अवसर पाउने बुझिएको छ।
मन्त्रालयको भागबण्डामा जनता समाजवादी पार्टीले सरकारमा आउने निर्णय गरेमा फेरि पनि थप छलफल हुने र मन्त्रालयमा दलहरुको दाबी फेरि परिवर्तन हुन सक्ने ती नेताको भनाई छ। 'जसपाले अहिलेसम्म निर्णय नगरेका कारण अहिले त्यही अनुसार छलफल अगाडि बढेको हो,' ती नेताले भने, 'जसपाले सरकारमा आउने भन्दै मन्त्रीमा दाबी गरेमा फेरि अर्को चरणको छलफल अगाडि बढ्ने छ।'