काठमाडौँ- हेल्थ फाउन्डेसन नेपालले नेपालमा मानसिक स्वास्थ्य परियोजनाका लागि अमेरिकामा आर्थिक संकलन गरेको छ। अमेरिकाको बोस्टनमा हेल्थ फाउन्डेसन नेपालले आर्थिक संकलनका लागि फण्ड रेजिङ डिनर (रात्रिभोज) को आयोजना गरेर आर्थिक संकलन गरेको हो।
नयाँ वर्षको अवसरमा भएको रात्रिभोजमा झन्डै ८० जना सहभागी थिए। उक्त डिनर मार्फत फाउन्डेसनले नेपालमा मानसिक स्वास्थ्य परियोजनाहरूका लागि करिब ८ हजार डलर रकम जुटाएको छ।
कार्यक्रममा एनआरएनए एनसीसीका पूर्व वरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, एनआरएनए म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङ, ग्रेटर बोस्टन नेपाली कम्युनिटी अध्यक्ष अञ्जु थापा र प्याबफोनका महासचिव गौरव थपलिया लगायतको उपस्थित थियो।
एचएफएनका सहसंस्थापक तथा अध्यक्ष डा श्रीधर पौडेलले दाताहरूलाई स्वागत गर्दै नेपालमा महिलाहरु, ज्येष्ठ नागरिक र गम्भीर मानसिक रोग भएका व्यक्तिहरूका लागि एचएफएनको मानसिक स्वास्थ्य परियोजनाबारे जानकारी दिएका थिए।
कार्यक्रममा प्रमुख गायक विराज गुरुङ र युवा गायक सम्यक अधिकारीले आफ्नो गीत प्रस्तुत गरेका थिए। फाउन्डेसनको समर्थक र प्रमुख दाताहरूमध्ये एकको स्वामित्वमा रहेको इटालियन रेस्टुरेन्ट बुओनो बिस्ट्रोमा आयोजना गरिएको रात्रिभोजपछि डीजे सन्दिप भट्टराईले म्युजिकल नाइटको नेतृत्व गरेका थिए।
हेल्थ फाउन्डेसन नेपाल संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको गैरनाफामुलक संस्था हो जुन २०१३ मा स्थापित भएको थियो। यसले नेपालमा सेवाविहीन समुदायका मानिसहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न समुदायमा आधारित दृष्टिकोणहरूमा काम गरिरहेको छ।
सन् २०२२ को नोभेम्बरसम्म हेल्थ फाउन्डेसनले ५ हजार भन्दा बढी बालबालिकालाई व्यापक पोषण स्वास्थ्य सेवा प्रदान गरेको छ भने २४ सय भन्दा बढी आमाहरूलाई समुदायमा आधारित मातृ मानसिक स्वास्थ्य हेरचाह, गम्भीर मानसिक रोग भएका ८० भन्दा बढी व्यक्तिहरूलाई एकीकृत मानसिक स्वास्थ्य सेवा, २ हजार भन्दा बढी वयस्कहरूलाई नसर्ने रोग सेवाहरू र नेपालका २४ विद्यालयका हजारौं विद्यार्थीहरूलाई कम्प्युटर साक्षरता कार्यक्रम संचालन गरिसकेको छ।
त्यसैगरी २०१५ को महाभूकम्पपछि नेपालमा भूकम्प र बाढीरपहिरोबाट प्रभावित हजारौं जनतालाई तत्काल राहत उपलब्ध गराउनुका साथै २ विद्यालय, १ अस्पताल, ३७ परिवार घर स्थापना गरेको छ।
नेपालमा मानसिक स्वास्थ्य सेवामा करिब ९० प्रतिशतको अन्तर छ र छ लाख जनसंख्या भएको दाङ जिल्लामा सन् २०१७ सम्म मानसिक स्वास्थ्य सेवाको पहुँच थिएन। फाउन्डेसनले डिजाइन गरेको कार्यक्रमले मनोसामाजिक सल्लाहकारहरू र प्राथमिक स्वास्थ्य सेवा प्रदायकहरू मार्फत उच्च गुणस्तरको मानसिक स्वास्थ्य सेवा प्रदान गर्दछ। यसका लागि मनोचिकित्सकहरू र मनोवैज्ञानिकहरू स्वयम्सेवा गरिरहेका छन्। हेल्थ फाउन्डेसनले सामुदायिक मानसिक स्वास्थ्य सचेतना र स्कूल मानसिक स्वास्थ्य कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ।