वीरगन्ज- वीरगन्जको नारायणी अस्पतालमा उपचार गराउन आएका बिरामीका कुरुवाहरु बुधबार जाडो छल्न आगो ताप्दै। विगत एक सातादेखि लगातार परेको शितलहरले पर्सावासीको जनजिवन प्रभावित बनेको छ। तस्बिर: विजय कुमार महतो, रासस
चिसो बढेसँगै मानिसहरूले अब कति दिनसम्म यस्तो जाडो कायम रहला भन्ने चासो व्यक्त गरिरहेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा यो वर्षको जाडो भर्खरै सुरु भएको छ।
त्यसले गर्दा अबको करिब एक महिनासम्म उपत्यकासहित विभिन्न भागमा चिसो हुने क्रममा खासै कमी नआउन सक्छ। मौसमविद्का भनाइमा यो वर्षको हिउँदमा गत वर्षको तुलनामा वर्षा कम हुने अनुमान गरिएकाले पानी परेर हुने जाडो गत वर्षको तुलनामा कम पनि हुनसक्छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यो साता नेपालका कैयौँ हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना देखिएको छ।