काठमाडौं- ललितपुरको गोदावरीमा यही पुष २२ गतेदेखि अन्तर्राष्ट्रिय स्तरको प्रथम डेण्टल एक्स्पो तथा कन्फ्रेन्स (नेपडेण्ट) हुँदैछ।
दन्त सामग्री वितरकहरुको संघले नेपाल डेण्टल एशोसिएसनको सहकार्यमा नेपडेण्ट एक्स्पो तथा कन्फ्रेन्स हुन लागेको हो। संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त सम्मेलन २२ देखि २४ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ। नेपडेण्ट गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ। दन्त सामग्री वितरकहरुको संघको एक्स्पो र नेपाल डेण्टल एशोसिएसनको कन्फ्रेन्स एकै पटक हुन लागेको हो।
७० बढी स्टल रहने एक्स्पोमा १ सय भन्दा बढी ब्राण्डका सामग्रीहरु राखिने दन्त सामग्री वितरकहरुको संघका अध्यक्ष शालिकराम अर्यालले जानकारी दिए। उक्त सम्मेलनमा नेपाल सहित, भारत, बंगलादेश, चीन लगायतका राष्ट्रबाट पनि विज्ञहरु सहभागी हुँदैछन्।
कन्फ्रेन्समा भने १३ जना दन्त चिकित्सकहरुले प्रस्तुतीकरण दिने एशोसिएसनका केन्द्रीय सदस्य डा हरिप्रसाद ओलीले जानकारी दिए। एक्स्पोमा करिब ३५ सय जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ।
नेपडेण्ट मेलामा नेपाल डेण्टल एशोसिएसनलाई मात्र सहभागी गराउन लागिएको कुरा गलत रहेको संघले पत्रकार सम्मेलनमा बताएको छ। नेपाल डेण्टल एशोसिएसनको मिडटर्म कन्फ्रेन्स र साइन्टिफिक सेसन चिकित्सकहरुको रहेको अर्यालले बताए।