काठमाडौं- काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। तीन महिना पहिले प्रत्यारोपणको स्वीकृति पाएको नर्भिकले हालसम्म २ जनाको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ।
मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको हो भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो।
आगामी दिनमा यो सेवालाई विस्तार गर्दै लगिने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बताए।
हस्पिटलमा डा राकेश वर्मा र डा आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मिर्गौला प्रत्यारोपण सेवा दिदै आएको छ।
मिश्र भन्छन्, 'सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएका २ वटा केशमध्ये पहिलो केही जटिल रहेको थियो। मिर्गौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्या लगायतका जटिलता थियो तर, नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको छ।'
मल्टिस्पेशालिटी हस्पिटल भएका कारण मिर्गौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरुमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएका कारण समेत नर्भिकमा सुरु भएको मिर्गौला प्रत्यारोपण सेवाले विशेष महत्व राख्ने मिश्र बताउँछन्।
हस्पिटलले कलेजो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाइसकेको जनाएको छ।