काठमाडौं- क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई यो दोस्रो पटक कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ।
प्रधानमन्त्री जस्टिनले सोमबार आफूलाई कोरोना भाइरस संक्रमण भएको र दोस्रो पटक आफूलाई भएको ट्वीटरमार्फत् जानकारी गराएका हुन्। उनले आफूलाई कोरोना भाइरसको संक्रमण भए पनि त्यस्तो कुनै स्वास्थ्य समस्या भने नदेखिएको बताएका छन्।
उनले ट्वीटमा लेखेका छन्, 'मैले कोरोना भाइरसका विरुद्धको सबै मात्रा खोप लगाएको छु, त्यसैले मलाई कुनै असर देखिएको छैन। त्यसैले तपाइँहरु पनि सबैले यो खोप लगाउनुहोला।'
गत हप्तामात्र उनले अमेरिकी शहर लस एन्जेलसको भ्रमण गरेका थिए।
त्यस क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित अरु पनि केही अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री जस्टिनको कार्यालयका अनुसार उनी आइतबार अमेरिकाबाट स्वदेश फर्किएका थिए र सोमबार पूर्व निर्धारित बैठकमा सहभागी भएका छन्।
उनलाई कुनै पनि स्वास्थ्य समस्या नदेखिएको भए पनि उनी हाल एकान्तमा रहने र केही दिन जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै घरमै एकान्तमा रहेर कार्यालयको काम गर्ने छन्।