काठमाडौं– विश्वचर्चित गायक जस्टिन बिबरले आफूलाई अनुहारको पक्षघात (फेसियल प्यारालाइसिस) भएको बताएका छन्। यो हप्ता उनको सांगितिक कार्यक्रम स्थगीत भएसँगै यसको कारण आफू अस्वस्थ्य भएको बताउँदै उनले आफूलाई अनुहारको पक्षघात भएको सार्वजनिक गरेका छन्।
२८ वर्षिय गायकले सामाजिक सञ्जालमार्फत आफूलाई ‘राम्से हन्ट सिन्ड्रोम’ भएको र हाल त्यसको उपचार गराइरहेको बताएका छन्।
‘तपाईंहरुले देखेजस्तै म मेरो आँखा झिम्काउन सक्दिनँ, मेरो अनुहारमा एकापट्टि हास्न मिल्दैन्। एकापट्टिको भाग पूर्ण रुपमा पक्षघात भएको छ,’ उनले भनेका छन्, 'कान र अनुहारका नसामा भाइरसको आक्रमणका कारण मेरो अनुहारमा प्यारालाइसिस भएको छ।'
राम्से हन्ट सिन्ड्रोम मानिसको अनुहारको फेसियल नर्भमाथि हुने रोग हो। गायक बैवरले यो साता आगामी वर्षको फेब्रुअरीमा विश्व भ्रमणको रुपमा रहेको तीन कार्यक्रम स्थगित भएको बताएका थिए। हाल उनले यसको कारण खुलाउँदै आफूलाई भएको पक्षघातबारे बताएका छन्।
उनले भनेका छन, ‘यो सबै एउटा भाइरसले भएको छ जसले मेरो कान र अनुहारको नसामाथी हमला गरेको छ।’
के हो राम्से हन्ट सिन्ड्रोम?
वासिङ्टन विश्वविद्यालय, स्कुल अफ मेडिसिनकी संक्रामक रोग विशेषज्ञ डा अन्ना वाल्डले न्युयोर्क टाइम्सलाई दिएको जानकारी अनुसार राम्से हन्ट सिन्ड्रोम भेरिसेला जोस्टर भाइरसका कारण हुने नसासम्बन्धी एक समस्या हो। अनुहार हुँदै कानतर्फबाट जाने नसा र बोनल क्यानल खुम्चिँदा तिनीहरुले काम गर्न छाड्छन्। जसका कारण अनुहारको एक भागमा प्यारालाइसिस हुने सम्भावना रहन्छ।
यो भाइरसले महिला र पुरुष दुवैलाई संक्रमण गर्ने सम्भावना हुन्छ। यो बालबालिकामा हुने चिकेनपक्स र वयस्कलाई दादुराको संक्रमण गराउने भाइरसबाट नै हुने न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ। चिकेनपक्सबाट निको भए पनि भाइरस शरीरमा रहने र त्यसले अनुहारका नसामा समस्या आउन सक्ने सम्भावना रहने समाचारमा भनिएको छ।
समाचार अनुसार उमेर पुगेका वृद्ध व्यक्तिहरु राम्से हन्ट सिन्ड्रोमबाट ग्रसित हुन सक्ने र श्रवण शक्तिमा पनि ह्रास आउने सम्भावना रहन्छ। यो सबैलाई हुन सक्छ, तर यसबाट डराउनुपर्दैन। राम्से हन्टबाट ग्रसित धेरै जना पूर्ण रूपमा निको हुन सक्छन्। तर निको हुने समय भने फरक-फरक हुन सक्छ।