काठमाडौं- भारतमा हवाई नियामक निकायले बुधबार नयाँ निर्देशन जारी गर्दै सबै हवाई यात्रीहरूले उडानभरि नाक र मुख छोपिनेगरी मास्क लगाउनु अनिवार्य रहेको जनाएको छ।
कोभिड–१९ सङ्क्रमण दरमा कमी आएसँगै जहाजमा भएका यात्रुहरूले मुखमा मास्क नलगाएर कोभिड नियमलाई हल्का लिन थालेपछि सरकारी उक्त निकायले उडानका समय मास्कलाई सुरक्षित लगाइराख्न निर्देशन गरेको हो।
नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको निर्देशनमा विमानस्थल परिसरमा पनि मास्क अनिवार्य गरिएको छ ।
नयाँ निर्देशनले भारतमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि मास्कको महत्वलाई मान्यता दिएको हो।
हाल भारतमा २८ हजार ८५७ जना कोभिडका सक्रिय सङ्क्रमित रहेका छन्। भारतका विमानस्थलमा सुरक्षा व्यवस्थापन गर्ने केन्द्रीय औद्योगिक सुरक्षा बलका कर्मचारीहरूले विमानस्थलमा मास्क लगाउनुपर्ने नियमलाई निगरानी गर्ने बताइएको छ।