काठमाडौं- सामान्यतया मंकीपक्स भाइरस नपाइने देशहरूमा ७८० जना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।
यो कुल संख्या एक साताअघिको भन्दा तीन गुणाले बढी हो। गत साता २५७ वटा संक्रमण पुष्टि भएको थियो।डब्ल्यूएचओका अनुसार गत तीन सातामा संक्रमित हुनेको संख्या सम्भवतः धेरै आक्नुपर्ने किसिमको छैन र विश्वव्यापी जोखिम स्तर 'मध्यम' खालको रहेको छ।
मंकीपक्सको संक्रमणखासगरी सामान्य खालको हुने गर्छ। तर मध्य तथा पश्चिम अफ्रिकाबाहिर पहिलो पटक व्यापक रूपमा फैलिएको छ।
अधिकांश नयाँ संक्रमित व्यक्तिहरू युरोप तथा उत्तर अमेरिकामा फेला परेका हुन्।
सानो संख्यामा संक्रमित व्यक्तिहरू मेक्सिको, आर्जेन्टीना, मोरक्को र संयुक्त अरब एमिरेट्समा पनि फेला गरेका छन्।
यूकेमा सबैभन्दा धेरै २०७ जना संक्रमित फेला परेका छन् भने स्पेनमा १५६ जना र पोर्चुगलमा १३८ जना संक्रमित पाइएका छन्।
डब्ल्यूएचओको ताजा विवरणअनुसार केही नयाँ संक्रमितहरू यसअघि पुष्टि भएका संक्रमित व्यक्तिहरू सम्पर्कमा पुगेको थाहा नभएका देखिएका छन्।
त्यसको अर्थ सङ्क्रमणको चक्र पहिचान नगरिएका संक्रमितसँग जोडिएको हुन सक्ने उसको ठम्याइ छ।
'अरू देशहरूले पनि संक्रमित फेला पार्न सक्ने र भाइरस थप फैलन सक्ने सम्भावना उच्च देखिएको छ', डब्ल्यूएचओले भनेको छ।
अहिले फैलिरहेको मंकीपक्स सङ्क्रमणका कारण कसैको मृत्यु भएको तथ्याङ्क छैन। डब्ल्यूएचओका अनुसार अहिलेसम्म पुष्टि भएका संक्रमितमध्ये अधिकांश समलिङ्गी यौन सम्बन्ध राख्ने पुरुषहरू रहेका छन्।
मंकीपक्स संक्रमण यौनसम्पर्कका कारण सर्छ भन्ने पुष्टि भइसकेको छैन, तर नजिकको सम्पर्कबाट संक्रमण फैलने बताइन्छ।
मंकीपक्स के हो?
बिफर रोग लाग्ने भाइरसकै प्रजातिको मंकीपक्स भाइरसबाट यो संक्रमणहुन्छ। यद्यपि मंकीपक्स संक्रमण हुने सम्भावना कम हुन्छ र यसले गम्भीर बिरामी बनाउँदैन।
यसको धेरैजसो संक्रमण मध्य र पश्चिम अफ्रिकाको जङ्गलनजिकै बस्तीमा देखिएका थिए। यो भाइरसका दुई मुख्य भेरियन्ट छन्स् मध्य अफ्रिकी भेरियन्ट र पश्चिम अफ्रिकी भेरियन्ट।
पश्चिम अफ्रिकी भाइरसको संक्रमण अर्को भाइरसको सङ्क्रमणभन्दा कम जोखिमपूर्ण हुन्छ।
यसका लक्षणहरू केके हुन्?
संक्रमणभएपछि संक्रमित व्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने लक्षण देखा पर्छन्।
केही दिनपछि शरीर बिमिराहरू देखा पर्न सक्छन्। यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ। हात र गोडाका पैतालामा बढी देखिन्छ।
कसरी सर्छ?
मंकीपक्स संक्रमितको नजिक रहँदा यो सर्न सक्छ।
यो भाइरस शरीरमा घाउ वा श्वासनली वा आँखा वा मुख वा नाकबाट छिर्न सक्छ।
अहिलेसम्म यसलाई यौन रोगका रूपमा हेरिएको छैन तर यौन क्रियाकलाप गर्दा हुने नजिकको सम्पर्कमा यो सर्न सक्छ।
संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो सर्न सक्छ वा संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्छ।
यो कति खतरनाक छर?
धेरैजसो संक्रमणगम्भीर हुँदैन। यो बिफरजस्तै हुन्छ र सङ्क्रमणको केही सातापछि आफै निको हुन्छ।
तर कहिलेकाहीँ यो गम्भीर हुन सक्छ र पश्चिम अफ्रिकामा यसका कारणले मानिसको मृत्यु भएको तथ्याङ्क छ। एजेन्सी