काठमाडौं– अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र ह्यान्डगन लिएका एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि आफैंले चलाएको गोली लागेर मृत्यु भएको छ।
ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए। उनको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ।
डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो। अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले मारिनेमा कर्मचारी र बिरामी दुवै रहेको बताए।
ह्वाइट हाउसले राष्ट्रपति जो वाइडेनलाई आक्रमणबारे जानकारी गराइएको जनाएको छ। गत हप्ता टेक्सासको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १९ बालबालिका र दुई शिक्षकको मृत्यु भएको थियो।
मे महिनामा एक बन्दुकधारीले बफेलो सुपरमार्केटमा गोली चलाउँदा १० जनाको ज्यान गएको थियो।