काठमाडौं– अमेरिकाको टेक्सासकी एक महिलाले एकैसाथ दुई सन्तानलाई जन्म दिएकी छन्। विशेष कुरा के छ भने दुवै बच्चा पाँच दिनको अन्तरले गर्भमा आएका हुन्।
यद्यपि, दुई बच्चाहरूलाई जुम्ल्याहा भनिने छैन। चिकित्सा विज्ञानको भाषामा यो अत्यन्त दुर्लभ अवस्थालाई सुपरफेटेसन भनिन्छ। हालसम्म विश्वभर यस्ता एक दर्जन मात्रै घटनाहरू सार्वजनिक भएका छन्।
अमेरिकाको टेक्सासकी २५ वर्षीया कारा विनहोल्डले पाँच दिनमा दुई पटक गर्भवती भएकी हुन्। काराका अनुसार उनले परीक्षण गर्दा आफू गर्भवती भएको थाहा पाएकी थिइन्। उनी गर्भवती भइसकेको र पाँच दिनअघि पहिलो सन्तान गर्भमा आएको चिकित्सकले बताएका थिए।
साथै चिकित्सकहरुले दुवै सन्तानसँगै जन्मिए पनि जुम्ल्याहा भन्न नमिल्ने बताएका छन्। अर्थात्, यो सुपरफेटेसनको घटना हो। भ्रूण सुरु भइसकेपछि गर्भवती महिलाको गर्भमा अर्को बच्चा आएमा त्यसलाई सुपरफेटेसन भनिन्छ।
केही दिन वा हप्तापछि गर्भवती हुनुलाई छुट्टै गर्भधारण मानिन्छ। अर्थात्, ती बालबालिकालाई जुम्ल्याहा भन्न मिल्दैन। सामान्यतया गर्भधारणपछि, शरीरमा हार्मोनल परिवर्तनका कारण, महिलाको पाठेघरबाट डिम्ब निस्कासन बन्द हुँदा पुन: गर्भवती हुने सम्भावना हुँदैन।
काराका अनुसार उनका दुई छोरा सेलसन र सेडान ठ्याक्कै उस्तै देखिन्छन्। ‘यस्तो अवस्थामा मानिसहरू प्रायः सोध्छन् कि दुवै जुम्ल्याहा हुन्? यद्यपि हामी तिनीहरूलाई जुम्ल्याहा भन्छौं,’ उनले भनिन्।