काठमाडौं- उत्तर कोरियामा रहेका कम्तीमा पनि ७८ प्रतिशत ज्वरोका बिरामी निको भएका यहाँको सरकारले जनाएको छ। कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जनाएअनुसार केही दिनदेखि यहाँ ज्वरोको प्रकोप बढेको थियो र अहिलेसम्म ७८ प्रतिशत भन्दा बढी निको भएका छन्।
यहाँ अप्रिलको अन्तिम तिरबाट ठूलो संख्याका नागरिकमा ज्वरोको प्रकोप बढेको थियो। त्यस प्रकोपमा कम्तीमा पनि २६ लाख ४० हजार नागरिक परेका थिए। उनीहलाई केहीलाई अस्पताल भर्ना गरिएको थियो भने केहीको घरमै उपचार भएको थियो। शनिबार रातिसम्ममा २० लाख ६० हजार ज्वरोका बिरामी निको भएका थिए, भने अरु केहीलाई उपचार जारी रहेको बताइएको छ।
सो समाचार समितिकाअनुसार यहाँ ज्वरोको प्रकोपका कारण ६७ जनाको ज्यान गएको थियो। सुरुमा ज्वरो मात्र भनिएकामा पछि यहाँका कतिपय नागरिकमा कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो। तर उत्तर कोरियाली सरकारले कोरोनाको प्रकोप नभएर ज्वरो मात्र भएको बताएको छ।