काठमाडौं- स्पेनको वामपन्थी सरकारले मंगलबार महिला अधिकारलाई थप सबल बनाउने एक विधेयकलाई सार्वजनिक बहसमा लान स्वीकृति दिएको छ। विधेयकले गर्भवती महिलालाई गर्भपतनमा थप अधिकार सुनिश्चिता गरेको छ।
यो कानुन पास भएमा महिनावारीको समयमा दुखाई महसुस गर्ने महिलाले तलबी बिदा पाउनेछन्। कानुन अनुसार महिलाले पाउने तलबी सुविधाको खर्च राज्यले बेहोर्नेछ।
यो कानुन पास भएमा स्पेन रजस्वला अवधिमा महिलालाई बिदा दिने पहिलो युरोपेली मुलुक हुनेछ। अहिले स्पेनमा सोसलिष्ट पार्टी नेतृत्वको अल्पसंख्यक सरकार छ। उसले नयाँ विधेयकले महिलाको गर्भपतनमाथिको पहुँचलाई थप सुनिश्चित गर्ने आशा लिएको छ।
विधेयक संसदबाट पास भएमा १६–१७ वर्षका किशोरीले आफ्नो गर्भपतन गर्न अभिभावकको अनुमती लिनु पर्दैन। यही विधेयकमा गर्भवती महिलालाई ३९ औं हप्तादेखि तलबी बिदा दिने विषय पनि समावेश छ।
त्यस्तै विद्यालय र स्वस्थ्य केन्द्रजस्ता सार्वजनिक स्थानमा महिनावारीसम्बन्धी सामग्री निशुल्क उपलब्ध गराइने सुनिश्चितता गराउने लक्ष लिएको छ। मस्यौदाले स्पेनमा पहिलेदेखि गैरकानुन मानिने ‘सरोगेट गर्भाधारण’ लाई महिलामाथिको हिंसाको रुपमा व्याख्या गरेको छ। सरोगेसीमा कुनै दम्पतीको भ्रूण प्रविधिको प्रयोग गरेर अर्को महिलाको गर्भमा राखेर हुर्काइन्छ।
मस्यौदालाई सरकारले स्वीकृति दिएपछि स्पेनमा तलबी महिनावारी बिदाका फाईदा बेफाइदाबारे बहस सुरु भएको छ । ‘केही सस्थानले महिलालाई अतिरिक्त बिदा दिनुपर्ने भएपछि महिलालाई भन्दा पुरुष कर्मचारीलाई लिने सम्भावना बढ्छ,’ २१ वर्षका विद्यार्थी पाब्लो मार्टिनले भने।
महिलाहरुले भने तलबी महिनावारी विदाको व्यवस्था प्रति आम सहमती देखाएका छन्। प्रस्तावित विधेयक अहिले सार्वजनिक बहसमा लगिएको हो। बहसपछि पुन त्यसबारे क्याबिनेटमा छलफल हुनेछ। त्यसपछि बल्ल यसमाथि तल्लो सदनमा मतदानमा जानेछ। यो विधेयक कानुनका रुपमा आउन केही महिना लाग्नेछ। एजेन्सी