सोल- उत्तर कोरियाले आइतबार ‘ज्वरो’को लक्षण देखिएका थप १५ जनाको मृत्यु भएको घोषणा गरेको छ। उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ। राज्यको आधिकारिक समाचार समिति केसिएनएले आइतबार प्रकोप सुरु भएदेखि ४२ जनाको मृत्यु भएको बताएको छ। जसमा आठ लाख २० हजार ६२० ज्वरो देखिएको ती मध्ये तीन लाख २४ हजार ५५० चिकित्सा उपचार प्राप्त गरेपछि निको भएका बताइएको छ।
यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएलगत्तै नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिएका छन्। उत्तर कोरियामा कोभिड विरुद्धको खोप लगाइएको छैन। यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ। उत्तर कोरियाको राजधानी प्योङ्गयांगमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका गत बिहीबार पुष्टि भएको थियो। रासस