काठमाडौं- अमेरिकाको मिजौरी राज्यको एक अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मी एकैसाथ गर्भवती भएका छन्। मिजौरीको लिबर्टी अस्पतालका १० नर्स र १ डाक्टर एकै पटक गर्भवती भएका हुन्।
अझ दुई जना नर्सको डेलिभरी मिति एकै दिन परेको छ। थप अर्को संयोग के देखिएको छ भने गर्भवती भएकामध्ये अधिकाशं स्वस्थ्यकर्मी प्रसूती, श्रम र सुत्केरी विभागमा काम गर्छन्।
ती स्वास्थ्यकर्मीले जुलाईदेखि नोभेम्बरका बीच बच्चा जन्माउनेछन्। एकै विभागका यति धेरै स्वास्थ्यकर्मी गर्भवती भएपछि मानिसहरुले ठट्टा गर्दै अस्पतालको पानीमै केही मिसिएकाले नखान सल्लाह दिन थालेका छन्।
‘एक जना नर्सले त साच्चै छुट्टै पानीको बोतल बोक्न थालिछन्। मैले उनलाई कोट्याउँदै तिमीले हल्ला सुनेकै भरमा बोतल ल्याउन थाल्यौ भनेर जिस्क्याएँ ,’ अस्पतालको पोष्टपार्टम विभागमा काम गर्ने २९ वर्षीया हन्ना मिलरले भनिन्।
यस अघि पनि एकै अस्पतालमा काम गर्ने धेरै स्वास्थ्यकर्मी एकै पटक गर्भवती भएका घटना बाहिरिएका थिए।
सन् २०१९ मा मेइन मेडिकल सेन्टरमाको श्रम तथा प्रसव इकाईमा कार्यरत ९ नर्स एकैसाथ गर्भवती भएका थिए। एजेन्सी