काठमाडौं- महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन्।
महामारी सुरु भएदेखि नै कोभिडको अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाईका साढे दुई करोड मानिसहरू हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको भनाई आएको हो।
‘जब हामी शून्य–कोभिड रणनीतिको बारेमा कुरा गछौँ, भाइरसको व्यवहार र भविष्यमा हामीले के अनुमान गर्छौं भन्ने विषयलाई मनन गर्दा यो दिगो छ भन्ने लाग्दैन’, टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलनमा भने।
उनले डब्ल्यूएचओका अधिकारीहरूले यस नीतिको बारेमा चिनियाँ विशेषज्ञहरूसँग कुरा गरेको जानकारी दिएका छन्। ‘हामीले यस विषयमा चिनियाँ विज्ञहरूसँग छलफल गरेका छौं र हामीले यो दृष्टिकोणले काम नगर्ने संकेत गरेका छौं। मलाई लाग्छ यो परिवर्तन धेरै महत्त्वपूर्ण हुनेछ, ‘संगठनका प्रमुखले भने।