काठमडौं- विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड महामारीका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसहरूको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ।
विश्व स्वास्थ्य संगठनले धेरै देशहरूले कोभिडका कारण मृत्यु हुनेहरूको संखया कम गणना गरेको विश्वास गरेको छ। कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको संख्या ५४ लाख मात्रै गणनामा समावेश गरिएको छ।
विश्व स्वास्थ्य संगठनले भारतमा मात्रै कोभिड संक्रमणका कारण ४७ लाख मानिसहरूको मृत्यु भएको हुनसक्ने जनाएको छ। यो संखया भारतले सार्वजनिक गरेको आधिकारिक तथ्यांक भन्दा १० गुणाले बढी हो।
यो विवरण अनुसार कोभिड महामारीबाट विश्वभर मृत्यु हुनेहरूको एक तिहाइ संख्या भारतमा देखिन्छ।
तर भारत सरकारले विश्व स्वास्थ्य संगठनको यो आकलनमा प्रश्न उठाएको छ। भारतले गणनाको विधिमा 'चिन्ता' रहेको बताए पनि अन्य अध्ययनहरूले पनि भारतमा कोभिडबाट मृत्यु हुनेहरूको संख्या सरकारी तथ्यांकभन्दा बढी रहेको देखाएका छन्।
विश्व स्वास्थ्य संगठनले प्रयोग गरेको मापनलाई अतिरिक्त मृत्यु भनिएको छ। जसमा महामारी सुरु भएपछि मृत्यु हुने मानिसहरूको संख्या महामारी अघिको त्यही समयको मृत्युदर भन्दा कति बढी थियो भन्ने अन्तर हेरिएको छ।
यो विधिले प्रत्यक्ष कोभिडकै कारण मृत्यु नभएका तर कोभिड महामारीले निम्त्याएका अप्रत्यक्ष समस्याहरूका कारण भएका मृत्युहरूलाई पनि गणना गर्छ।
जसमा मानिसहरू कोभिडका कारण अस्पतालबाट आवश्यक सेवा लिन वञ्चित भएका कारण भएका मृत्यु जस्ता कारणहरू पर्छन्। यसले केही क्षेत्रहरूमा भएको कमजोर तथ्यांक संकलज र महामारीको सुरुवाती समयमा देखिएको परीक्षण अभावजस्ता समस्याहरू पनि उजागर गरेको छ। तर विश्व स्वास्थ्य संगठनले देशहरूको तथ्यांकमा देखिएको ५४ लाखबाट आफ्नो आकलनमा थपिएको ९५ लाख मृत्युका अधिकांश घटना कोभिडको प्रत्यक्ष असरका कारण भएको दाबी गरेको छ।
पछिल्लो तथ्यांकलाई विश्व स्वास्थ्य संगठनको तथ्यांक विभागकी समिरा आस्माले 'दुःखान्त' भनेकी छिन्।
'यो अचम्मित बनाउने संखया हो। हामीले गुमाएका जीवनहरूलाई सम्मान गर्नु र नीति निर्माताहरूलाई जिम्मेवार बनाउनु जरुरी छ।' उनले भनिन्।
'यदि मृत्युको सही गणना गरेनौँ भने अर्को पटक राम्रो तयारी गर्ने अवसरबाट हामी वञ्चित हुन सक्छौँ।' उनले थपिन्।
भारत बाहेक सरकारी विवरणहरूमा भन्दा विश्व स्वास्थ्य संगठनको तथ्यांकमा धेरै कोभिड मृत्यु देखिएका देशहरूमा रुस, इन्डोनेसिया, अमेरिका, ब्रजिल, मेक्सिको र पेरु छन्।
रुसले सार्वजनिक गरेको कोभिड मृत्युको विवरणभन्दा विश्व स्वास्थ्य संगठनको पछिल्लो विवरण साढे तीन गुनाले बढी छ।
प्रतिवेदनले देशको जनसंख्याको आकारसँग समेत अतिरिक्त मृत्युको दरलाई तुलना गरेको छ। सन् २०२० र २०२१ मा यूकेसहित अमेरिका, स्पेन र जर्मनी जस्ता देशहरूको अतिरिक्त मृत्युदर विश्वको औसतभन्दा बढी देखिएको छ।
अतिरिक्त मृत्युदर कम भएका देशहरूमा चीन अगाडी छ। यो देशले अझैसम्म पनि शून्य कोभिडको रणनीति अंगिकार गर्दै व्यापक परीक्षण र क्वारन्टिनको नियम लगाएको छ।
भाइरसलाई देश बाहिरै राख्न कडा यात्रा प्रतिबन्ध लागु गरेको अस्ट्रेलियामा पनि अतिरिक्त मृत्युदर कम छ। नर्वे र जापान पनि यो सूचीमा समावेश छन्।
प्रतिवेदन तयार गर्ने क्रममा सहयोग गरेका प्राज्ञिक व्यक्तिहरूले सब सहारा अफ्रिका क्षेत्रमा मृत्युको तथ्यांक उपलब्ध नभएका कारण केही देशहरूको विवरण भने अनुमानित मात्रै रहेको बताएका छन्।
अफ्रिकाका ५४ देशमध्ये ४१ देशको तथ्यांक भरपर्दो नरहेको बताइएको छ।
विश्व स्वास्थ्य संगठनलाई सहयोग गरेका वासिङ्टनस्थित सिएटल विश्वविद्यालयका तथ्यांकशास्त्री प्राध्यापक जोन वेकफिल्डले भने, 'राम्रो तथ्यांक संकलन प्रणाली हामीलाई जरुरी भइसकेको छ।' बीबीसी