काठमाडौं- चीनमा एक वृद्ध कोभिड संक्रमितको निधन भएको ठानेर शववाहनमा राख्ने सांघाई उपचार केन्द्रका चार जनालाई जागिरबाट निष्कासन गरिएको छ।
सार्वजनिक भएका अनलाइन भिडिओमा दुई व्यक्तिले शवसहितको ब्याग शववाहनमा राख्दै गरेको देखिन्छ।
पछि ती कामदारले सो ब्यागलाई खोल्दै गरेको र एक जनाले बिरामी जीवितै भएको भनी बोलेको सो भिडिओमा सुनिन्छ।
चिनियाँ सामाजिक सञ्जालमा यो घटनाबारे नागरिकहरू आक्रोशित रूपमा प्रस्तुत भएका छन्। सांघाईको पुटुओ क्षेत्रमा अधिकारीले घटनाको पुष्टि गर्दै ती बिरामीलाई अस्पताल पुर्याइएको र उनी खतरामुक्त रहेको बताएका थिए। अधिकारीहरूले एक चिकित्सक र पाँच कामदारहरूमाथि छानबिन भइरहेको बताएका थिए।
स्थानीय नागरिक मामिला कार्यालयका उपप्रमुख र उपचार केन्द्रका निर्देशकसहित चार जनालाई जागिरबाट निकाला गरिएको बताइएको छ। एक चिकित्सकको अनुमति खारेज गरिएको छ।
बिरामीको परिचय अझै खुलेको छैन। धेरैले यो घटनाको निन्दा गरेका छन्। एक सरकारी सञ्चारमाध्यममा भूतपूर्व प्रधान सम्पादकले यसलाई जिम्मेवारी वहनको नगरेको गम्भीर घटना भन्दै यसबाट झन्डै एक व्यक्तिको ज्यान गएको बताएका छन्।
करिब साढे दुई करोड मानिस बसोबास गर्ने चीनको सबैभन्दा ठूलो सहर सांघाईमा कोभिडका कारण कडा प्रतिबन्ध लागेको छ साता पूरा भएको छ। एजेन्सी