काठमाडौं- चीनमा लगातार कोरोनाका नयाँ संक्रमित देखिइरहेका छन्। सांघाईमा पाँच साता लामो लकडाउनका बाबजुद पनि कोरोनाका नयाँ संक्रमित थपिइरहेका छन्।
बेइजिङमा बसोबास गर्ने मानिसहरूका लागि कडा नियम लागू गरिएको छ। यो नयाँ नियम अनुसार बेइजिङमा बसोबास गर्ने व्यक्तिले कुनै पनि सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि आफ्नो कोरोनाको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ।
यी नियमहरू कहिलेसम्म लागु हुने भन्ने कुरा स्पष्ट नभए पनि बेइजिङमा यसअघि पाँच दिन बिदा परेको बेलामा यी नियम लागू गरिएको हो। यसका साथै, यदि तपाईं बेइजिङमा बस्नुहुन्छ र सार्वजनिक यातायात प्रयोग गर्नुहुन्छ भने, मे ५ देखि, तपाईंले नेगेटिभ रिपोर्ट ल्याउन अनिवार्य हुनेछ।
चीनमा फेरि एकपटक संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ। अन्य धेरै देशको तुलनामा चीनमा शून्य कोभिड रणनीति अन्तर्गत काम भइरहेको छ। चीनले यो भाइरसलाई पूर्ण रूपमा उखेल्ने प्रयास गरेको छ।
गत अप्रिल २२ यता देशमा २९५ नयाँ संक्रमित थपिएका छन्। एजेन्सी