रुसी आक्रमणपछि युक्रेनबाट फर्किएका हरेक विद्यार्थीका कथा छन्। यो बंकरमा बस्ने या बिस्फोटको आवाजबाट त्रसित भएर रातभर जागै बस्ने कथा होइन। यो त युक्रेनमा उनीहरुका ‘कन्ट्र्याक्टर’को कथा हो।
कुनै कथामा कन्ट्र्याक्टर हिरो छन् भने कुनैमा भिलेन। तर हरेक कथामा उनीहरुको उपस्थिति छ। र, यो पनि स्पष्ट छ–असल र खराब कन्ट्र्याक्टर, उनीहरुसँग असल र खराब सम्बन्ध। यी दुवै कुराले युक्रेनमा पढ्ने अनुभव प्राप्त हुन्छ।
कन्ट्र्याक्टर एउटा ठूलो सिस्टमको चालक सिटमा बस्छ, जो भारतको गल्ली, टोलमा काम गरिरहेका एजेन्टको सम्पर्कमा आउने भारतीय विद्यार्थीलाई युक्रेनका विश्वविद्यालयसम्म पुर्याउँछ, भर्ना गरिदिन्छ र त्यसपछि ६ वर्षसम्म त्यहाँ बस्ने, खाने सुविधा दिलाउँछ।
तिनै कन्ट्र्याक्टरले कोभिड महामारीका दौरान सन् २०२० मा घर फर्कन चाहने विद्यार्थीका लागि चार्टर फ्लाइटको जोरजाम गरिदिए, जसको टिकटको मूल्य भारत सरकारले सञ्चालन गरेको चार्टर फ्लाइटभन्दा सस्तो थियो।
यतिमात्र नभई सन् २०१४ मा क्रिमियामा रुसी आक्रमणका बेला र हालको युद्धका क्रममा विद्यार्थीलाई सीमासम्म पुर्याउन बस सुविधा उपलब्ध गराए।
उनीहरु भारतीय हुन्, तर युक्रेनमा बस्छन्। त्यहाँका भाषा र स्थानीयसँग राम्रो सम्बन्ध छ। हरेक सुविधामा उनीहरुको पहुँच छ।
त्यसमध्ये एक हुन्, अमरिकसिंह ढिल्लोँ, जो आफैं पनि एमबीबीएस पढ्न युक्रेन गएका थिए। डिग्री पनि लिए र भारत फर्किए। तर उनलाई महसुस भयो, डाक्टरको भन्दा युक्रेनमा कन्ट्र्याक्टरको काममा बढी फाइदा छ।
भिडियो कलमा अमरिकले आफू २० वर्षदेखि यो काममा संलग्न रहेको बताए।
सुरुवात क्रिमियाको विश्वविद्यालयबाट भएको थियो। तर २०१४ मा रुसी आक्रमणपछि सबै कुरा बदलियो ।
अमरिकसिंहले भने, ‘आक्रमणका बेला करिब ३ हजार भारतीय विद्यार्थी थिए। भारतीय दूतावासले रेल उपलब्ध गराउन सहयोग गर्यो। तर ग्राउण्डमा त हामी नै थियौं, हामीले विद्यार्थीहरुलाई सम्झाउनु थियो, एकजुट गराउनु थियो, सुरक्षित रुपमा राजधानी किभसम्म पुर्याउनु थियो। त्यसपछि हामीले नै उनीहरुको ट्रान्सफर युक्रेनकै अलग अलग विश्वविद्यालयमा गरायौं, ताकि उनीहरुले आफ्नो पढाई जारी राख्न सकुन्।’
उनले हालसम्म ५ हजारभन्दा बढी विद्यार्थी युक्रेन ल्याइसकेको दाबी गरे।
कन्ट्र्याक्टरबाट धोखा पनि
युक्रेनको शिक्षा र विज्ञान मन्त्रालयको सन् २०२० को तथ्यांकअनुसार त्यहाँ पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीमा एक चौथाई भारतीय थिए।
सोभियत संघ विखण्डनपछि उच्च शिक्षाको नीति र प्रशासनका बारेमा अनुसन्धान गरिसकेका हङकङ विश्वविद्यालयका एनाटोली ओलेक्सियेंकोका अनुसार कम शुल्कका अलावा अन्य पनि कारण छन्, जसले युक्रेन अन्तर्राष्ट्रिय विद्यार्थीको आकर्षक गन्तव्य बनेको छ।
ओलेक्सियेंको भन्छन्, ‘युक्रेनलाई युरोपेली संघबाट भिसा फ्रि स्टाटस मिलेपछि र संघको सदस्य बन्ने आशामा युक्रेनी डिग्रीको महत्व र उच्च शिक्षामा भइरहेको लगानीमा व्यापक वृद्धि भयो।’
हरियाणाका मयंक गोयल, उत्तर प्रदेशकी गरिमा पाण्डे र बिहारका अजयकुमारका लागि पनि डाक्टरी डिग्री लिने एकमात्र उपाय युक्रेन थियो। कडा प्रतिस्पर्धाका कारण उनीहरुले भारतका ६०६ कलेजको ९२ हजार ६५ सिटमा स्थान बनाउन सकेनन्। त्यति सिटका लागि १६ लाख विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए।
महंगो सम्झौता
विद्यार्थीका लागि युक्रेन गएर पढ्ने निर्णय एक ‘महंगो’ सम्झौता बनिरहेको छ। कन्ट्र्याक्टरको सिस्टमका बाबजूद यी तीनै विद्यार्थीलै धोका पाए। भारतमा जुन एजेन्टले उनीहरुलाई युक्रेनमा भर्ना गर्ने विश्वास दिलाएका थिए, उनीहरु या त पैसा लिएर भागे, या भर्ना गर्न सकेनन्।
महिनौं पर्खाइपछि उनीहरुले थप जानकारी बटुले, केही सिनियरसँग कुरा गरे र युक्रेनका सही कन्ट्र्याक्टरसँग सिधा सम्पर्क गरे।
अब यी तीनै जना युक्रेनका अलग अलग विश्वविद्यालयमा पढ्छन्।
कन्ट्र्याक्टरहरु पूरै व्यवस्थित र कानुनी तरिकाबाट काम गर्छन्। भारतीय दूतावास र युक्रेनी विश्वविद्यालयसँग सम्झौता गर्छन्।
अलग–अलग विश्वविद्यालयमा भारतका अलग–अलग कन्ट्र्याक्टर छन्। उनीहरुलाई भारतका प्रतिनिधि मानिन्छ भने विद्यार्थीहरुले आफ्नो सम्पूर्ण कागजी काम उनीहरुमार्फत् गछन्।
कन्ट्र्याक्टरले हरेक वर्ष सीमित संख्यामा विद्यार्थीलाई भर्ना गराउनुपर्नेहुन्छ। यसका लागि एक विद्यार्थी बराबर एकदेखि २ लाख रुपैयाँसम्म पाउँछन्।
यी सबैका बाबजूद कन्ट्रयाक्टरको जानकारी पारदर्शी रुपले उपलब्ध छैन। केही ठूला नामबाहेक अरु आफ्नो पहिचान दिनसमेत हिच्किचाउँछन्।
कन्ट्र्याक्टरको चंगुल
बेलायत, अमेरिका र अस्ट्रेलियाजस्ता पश्चिमी मुलुकमा कन्ट्र्याक्टरको सिस्टम छैन। बोलचालको भाषा अंग्रेजी हुने भएकाले अन्तर्राष्ट्रिय विद्यार्थी सिधा विश्वविद्यालयसँग सम्पर्क गर्छना्।
तर युक्रेनजस्ता अंग्रेजीबाहेकका भाषा बोलिने देशहरु चीन, कजाखस्तान, उज्वेकिस्तान, जर्जियामा पनि कन्ट्र्याक्टर सिस्टम छ।
कन्ट्र्याक्टरको कमाइको माध्यम कुनै शुल्क हुँदैन। उनीहरु विद्यार्थीका लागि होस्टल चलाउँछन् र भारतीय खाना दिने मेस चलाउँछन् र त्यसको खर्च विद्यार्थीबाट अलग लिन्छन्।
एक विद्यार्थीका अनुसार यस्ता होस्टल छाड्न सजिलोचाहिँ छैन। उनी भन्छन्, ‘हामी होस्टल छाडेर अलग्गै कोठा लिन चाहन्छौं भने पनि छोड्दा पैसा तिर्नुपर्ने हुन्छ र फिर्ता आए पेनाल्टी तिर्नुपर्छ भनिन्छ। अर्थात् यस्तो प्रणाली महंगो परिरहेको हुन्छ, र विद्यार्थी त्यसमा फसिरहेका हुन्छन्।’
यद्यपि मेसमा भारतीय परम्पराअनुसार भने रहन पाउने सुविधा छ। उनीहरु र अफ्रिकी मुलुकबाट आएका विद्यार्थीलाई अलग्गै राखिन्छ। बिरामी भएकालाई अस्पताल लैजाने र पैसा नहुँदा उधारो दिनेजस्ता सुविधा पनि दिइन्छ।
तमिलनाडुका बाला कुमारका अनुसार यस्ता कन्ट्र्याक्टरहरु सहयोग त गर्छन् तर विद्यार्थीका जीवनलाई निकै नियन्त्रण गर्छन्, जसका कारण स्वतन्त्र रुपमा निर्णय गर्न समस्या हुन्छ।
यस्तै, युक्रेनी विश्वविद्यालयमा रहेका कागजात पनि उनीहरुले नै निकालिदिन्छन्।
यो पटक युद्धका कारण कैयौं विद्यार्थीहरु विश्वविद्यालय परिवर्तन गर्ने या कुनै देशमा ट्रान्सफर गर्न इच्छुक छन्।
यो निर्णय न कन्ट्र्याक्टरको हातमा छ, न विश्वविद्यालयको।
विद्यार्थीका अनुसार कन्ट्र्याक्टरहरु उनीहरुलाई युक्रेन फर्कन सल्लाह दिइरहेका छन्।
पढाई जारी राख्न भूमिका
अमरिक ढिल्लोंका अनुसार युद्ध सुरु भएपछि उनीहरुले भारतसहित युक्रेनका छिमेकी मुलुकका दूतावाससँग सिधा सम्पर्क गरे र विद्यार्थीलाई बाहिर निकाल्न जुटे।
उनीहरुका मोबाइल नम्बर सरकारी एडभाइजरीमा छापियो र कैयौं दिनसम्म कन्ट्र्याक्टरहरुलाई विद्यार्थीका चिन्तित परिवारको फोन आइरह्यो।
अमरिक ढिल्लोंका अनुसार दूतावासका कर्मचारी ग्राउण्डसम्म पुग्नै सक्दैनथे। तर उनीहरुले विद्यार्थीलाई खाने बस्ने व्यवस्था गरे। यसका लागि विद्यार्थीसँग पैसा लिएनन्। र, उपयुक्त रकममै बस र ट्याक्सी उपलब्ध गराए।
भारत सुरक्षित फर्किएपछि विद्यार्थीहरुलाई चिन्ता छ, पढाई कसरी जारी राख्ने भनेर।
युक्रेनी विश्वविद्यालयले अनलाइन कक्षा सुरु गरे, यसको श्रेय पनि तिनै कन्ट्र्याक्टरलाई जान्छ, जसले यसका लागि विश्वविद्यालयलाई दबाब दिए। तर विना प्रयोगात्मक अभ्यास डाक्टरी पढाई अधुरो हुन्छ।
युक्रेनको शिक्षा मन्त्रालयको अन्तर्राष्ट्रिय विभागकी निर्देशक डा ओलेना शापोभालोभाले सबै विद्यार्थीले अनलाइन र अफलाइन माध्यमबाट पढाई जारी राख्न सक्ने र युरोपियन युनियन र भारत या युक्रेनका कुनै सुरक्षित भागमा क्लिनिकल अभ्यास गर्न सक्ने बताएकी छन्।
भारतीय संसदमा विदेशमन्त्री एस जयशंकरले पनि विद्यार्थीलाई ट्रान्सफरका लागि पोल्याण्ड, जर्मनी, कजाखस्तान र रोमानियासँग कुरा भइरहेको बताएका थिए।
तर, त्यति सजिलो छैन
भारतको चिकित्सा आयोगको निर्देशिकाअनुसारर विद्यार्थीले एकै विश्वविद्यालयबाट पढाई पूरा गर्नुपर्छ र प्रयोगात्मक अभ्यास पनि।
एनाटोली ओलेक्सियेंकोका अनुसार यी सबकुराका बाबजूद पनि युक्रेन मेडिकल पढाईको गढ बनिरहनेछ। ‘युद्धको फाइदा हुनेछ, किनकि यहीकारण यहाँ मेडिकल क्षेत्रमा कैयौं चिजको अनुभव बढेको छ, खासगरी सर्जरी र आपतकालीन मेडिसिनमा,’उनी भन्छन्।
कन्ट्र्याक्टरहरु पनि चाँडैयुद्ध समाप्त भई विश्वविद्यालयमा अफलाइन कक्षा सुरुहुने विश्वासमा छन्।
बिबिसी हिन्दीबाट