काठमाडौं–रुसले युक्रेनी स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि गरेको आक्रमणमा ७० जना मारिनुका साथै ४६ जना घाइते भएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको एक तथ्यांकअनुसार गत फेब्रुअरी २४ मा आक्रमण सुरु गरेयता उक्त संख्यामा मारिएका हुन्।
डब्लुएचओका अनुसार हालसम्म युक्रेनी स्वास्थ्य निकायमाथि ८६ वटा आक्रमण भएका छन्। मार्चको पहिलो साता रुसले युक्रेनको मारिउपोलस्थित बाल तथा प्रसूति अस्पतालमा आक्रमण गरेको थियो।
डब्लुएचओले आक्रमण बन्द हुनुपर्ने र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई कहिल्यै पनि निशाना बनाउन नहुने बताउँदै आएको छ। स्वास्थ्यसेवा अत्यावश्यक परेकाहरुका लागि पनि उनीहरुलाई सुरक्षित बनाउनुपर्ने डब्लुएचओको भनाइ छ।
यसैबीच, विश्व स्वास्थ्य दिवसका अवसरमा सन्देश दिँदै डब्लुएचओका युरोप निर्देशक हेनरी पी क्लुगले युक्रेनी स्वास्थ्यकर्मीप्रति आफूहरुको ऐक्यबद्धता रहेको जनाएका छन्। हाल डब्लुएचओले पश्चिमी युक्रेनको लिभिभ सहरबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको छ।
क्लुले अकल्पनीय मानवीय पीडा र नर्स, डाक्टर, एम्बुलेन्स चालक, फार्मासिस्टविहीनताको क्षतविक्षत अवस्थाका बीच पनि युक्रेनी स्वास्थ्यकर्मीले देखाएको प्रतिबद्धता र व्यावसायिकताका लागि धन्यवाद पनि दिएका छन्।
उनले युक्रेनमा स्वास्थ्य सेवाको निरन्तरता आफूहरुको प्राथमिकता रहेको उल्लेख गर्दै यसका लागि युक्रेनभर ८० साझेदार संस्थामार्फत् काम गरिहेको बताएका छन्। डब्लुएचओले युद्धप्रभावित क्षेत्रका लागि १८५ टन स्वास्थ्य सामग्री सहयोग गरेको छ। साथै थप १२५ टन पनि युक्रेन पुग्ने क्रममा रहेको जनाइएको छ।