काठमाडौं- भारतको पश्चिमी राज्य महाराष्ट्रमा स्थानीय स्वास्थ्यकर्मीहरूले जनचेतना अभिवृद्धि गर्न प्रयोग गर्ने परिवार नियोजनको किटमा रबरको लिङ्ग राखिएको कुराले विवाद उत्पन्न भएको छ।
विपक्षी सांसदहरूले त्यस्ता सामानले महिला स्वास्थ्य कार्यकर्ताहरू अप्ठेरोमा पार्ने भन्दै आपत्ति जनाएका छन्। प्रजनन स्वास्थ्य र परिवार नियोजनका उपायबारे जनचेतना फैलाउन उनीहरूले त्यस्तो किट प्रयोग गर्दै आएका छन्।
तर केही महिला स्वास्थ्य कार्यकर्ताहरूले आफूहरूले बिनासङ्कोच रबरले बनेको लिङ्गको नमुना प्रयोग गर्ने गरेको बताएका छन्। उक्त किटमा रबरको गर्भाशय पनि हुन्छ। तर त्यसले कुनै प्रश्न उठेको छैन।
त्यस्ता किटहरू मान्यताप्राप्त सामाजिक स्वास्थ्य कार्यकर्ता (आशा सेविका) हरूलाई दिइएको छ। उनीहरू भारतको प्राथमिक र सामुदायिक स्वास्थ्य कार्यक्रममा महत्त्वपूर्ण मानिएका छन्।
उनीहरू सर्वसाधारणलाई प्रजनन स्वास्थ्य र परिवार नियोजनका साधनबारे जानकारी दिन घरघरमा जान्छन्। यो काम गर्दा निकै संवेदनशीलता आवश्यक पर्छ किनभने यौन भारतका धेरै ठाउँमा अझै पनि छलफल गर्न वर्जित विषय हो।
महाराष्ट्रस्थित सार्वजनिक स्वास्थ्य विभागकी निर्देशक अर्चना पाटिलले लिङ्गको नमुनासहित करिब २५,००० वटा किट राज्यका ग्रामीण स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीहरूलाई वितरण गरिएको बीबीसी मराठीलाई जानकारी दिइन्।
उनका अनुसार लिङ्गको नमुनाबारे बुल्धाना जिल्लाबाट मात्रै नकारात्मक प्रतिक्रिया आएको हो।
विपक्षी दलहरूले रबरको नमुना लिङ्गले महिला स्वास्थ्यकर्मीहरूलाई अपमानित महसुस हुने तर्क गरेका छन। यो प्रदेशमा प्रतिपक्षमा रहेको भारतीय जनता पार्टीसहित केही राजनीतिक दलका नेताहरूले त्यसमा असहमति जनाउँदै आएका छन्।
बुल्धानाका भाजपा सांसद आकाश फुन्डकरले सरकारलाई त्यस्ता सामग्री फिर्ता लिएर स्वास्थ्यकर्मीहरूसँग क्षमा माग्न माग गरेका छन्। यो प्रदेशमा पार्टीको उपसभापति रहेकी चित्रा वाघले सरकारले यौन उत्तेजक कामलाई प्रोत्साहन दिएको आरोप लगाएकी छन्। बीबीसीको सहयोगमा