नयाँ दिल्ली - भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा दुई हजार भन्दा कम सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा तीन लाख ८४ हजार ४९९ को कोरोना परीक्षण गरिएकोमा एक हजार ५४९ मा मात्र कोरोना सङ्क्रमण भएको जनाइएको छ। यद्यपी आइबार मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार एक हजार ७६१ मा यो सङ्क्रमण देखिएको थियो।
योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने २५ हजार १०६ पुगेको अधिकारीले जनाएका छन्। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको शून्य दशमलव ०६ प्रतिशत रहेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ३१ जनाको मृत्यु छ। यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम पाँच लाख १६ हजार ५१० को मृत्यु भइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा दुई हजार ६५२ कोरोना भाइरसबाट सङ्क्रमण मुक्त भएका छन्। एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो।
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ६७ हजार ७७४ पुगेको छ। भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८ दशमलव ७४ प्रतिशत रहेको छ। भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म कोरोना भाइरस विरुद्धको एक अर्ब ८३ करोड ५२ लाख २५ हजार ६० डोज खोप लगाइएको छ। रासस